समाज

अखाद्य रङ र चरम फोहोर भेटिएपछि महालक्ष्मी दालमोठ उद्योग ‘सिल’

काठमाडौंको चन्द्रागिरीमा सञ्चालित एक दालमोठ उद्योगमा चरम फोहोर र अखाद्य वस्तुको प्रयोग भएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उद्योगको उत्पादन तथा बिक्री वितरणमा पूर्ण बन्देज लगाएको छ।

विभागको अनुगमन टोलीले उद्योग परिसरबाट उत्पादन भई बिक्रीका लागि तयार राखिएका १०२ बोरा दालमोठ तत्कालका लागि रोक्का गरेको छ।

अर्को व्यवस्था नभएसम्मका लागि उक्त परिमाणको दालमोठ उद्योगीकै जिम्मामा रहने गरी सिलबन्दी गरिएको र उद्योगबाट हुने सम्पूर्ण बिक्री वितरण कार्य ठप्प पारिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा उद्योगको भौतिक पूर्वाधार र सरसफाइको अवस्था अत्यन्त नाजुक भेटिएको छ। विभागका अनुसार उद्योगको बाह्य परिसरको सरसफाइ सन्तोषजनक छैन भने आन्तरिक प्रशोधन स्थलको अवस्था झनै भयावह छ।

खाद्य पदार्थ उत्पादन हुने ठाउँको भुइँ, भित्ता तथा छानो समेत खुला रहेको पाइएको छ। जसले गर्दा बाह्य धूलो र कीटाणुको संक्रमणको जोखिम उच्च देखिएको छ।

खाद्य नियमावली अनुसार निश्चित मापदण्ड र विधि पूरा गरेर मात्र खाद्य रङ प्रयोग गर्न पाइने भए पनि यहाँ स्वास्थ्यका लागि हानिकारक हुने गरी रङको प्रयोग भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

No description available.

विभागले काठमाडौं उपत्यकाभित्र खाद्य स्वच्छता कायम गर्न अनुगमनलाई तीव्रता दिएको र जनस्वास्थ्यमा खेलवाड गर्ने जोकोहीलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

प्रकाशित: ९ मंसिर २०८२ २०:०६ मंगलबार