समाज

कपिलवस्तुका ४ सय ९१ मतदान केन्द्रबाट मतपेटिका संकलन गरिदै

प्रतिनिधि सभाको मतदान सम्पन्न भएलगत्तै ४ सय ९१ मतदान केन्द्रबाट मतपेटिका संकलन सुरु गरिएको छ। 

कपिलवस्तुको तीन वटै निर्वाचन क्षेत्रको मतपेटिका संकलन गरिएको हो। सुरक्षाकर्मीको टोलीसहित मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पुर्याउन लागेका छन्। 

कपिलवस्तु क्षेत्र नम्बर १ को बाणगंगा माबि ठकुरापुर, क्षेत्र नम्बर २ को कपिलवस्तु नगरपालिका र क्षेत्र नम्बर ३ को राष्ट्रिय माबि चन्द्रौटामा मतगणन स्थल कायम गरिएको थियो। सबै ठाउँको मतपेटिका राति ८ बजे भित्र आइसक्ने प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताए। 

सर्वदलीय छलफल पछि मतगणना गर्ने तयारी समेत गरिएको उनले बताए। कपिलवस्तुमा प्रारंभिक विवरण अनुसार साढे ५८ प्रतिशत मतदान भएको छ। कपिलवस्तुमा कुल ३ लाख ९६ हजार २ सय ६५ मतदाता छन्।  

प्रकाशित: २१ फाल्गुन २०८२ १९:२८ बिहीबार