बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा भएको अटो दुर्घटनामा बेपत्ता रहेका चार वर्षीय बालक पनि मृत भेटिएका छन्।
यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। मृतकमध्ये तीन बालबालिका छन्।
बेपत्ता रहेका चार वर्षीय रियास महराको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
बझाङ प्रहरीका अनुसार सोमबार बिहान १०:२० बजे टुमेडा गाउँबाट वडा नम्बर ११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१-००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० फिट तल भिरमा खसेको थियो।
दुर्घटनाका बेला अटोमा चालकसहित ६ जना सवार रहेको प्रारम्भिक विवरण छ। दुर्घटनालगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले खोजी तथा उद्धार गर्ने क्रममा तीन जनाको शव फेला पारेको थियो।
दुर्घटनामा यसअघि बुङ्गल नगरपालिका-१० निवासी ३५ देखि ४० वर्षीया राजमती महरा, १५ देखि १६ वर्षीया तारा महरा र पाँचदेखि छ वर्षीया डल्ली महराको मृत्यु भएको प्रहरीले जनाएको छ।
अटोमा सवार १२ देखि १३ वर्षीय विक्रम महरा भने सकुशल घर फर्किएको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले अटो चालक बुङ्गल नगरपालिका-११ निवासी २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिएको छ।
दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको र घटनाको कारण तथा अन्य विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: ३० कार्तिक २०८३ १५:२१ सोमबार



-600x400.jpg)