काठमाडौं उपत्यकामा जारी वर्षासँगै बागमती नदीको जलसतह बढेर गौरीघाट जलमापन केन्द्रमा सतर्कता तह पार गरेको छ।
जलसतह लगातार उकालो लागिरहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनार र करिडोर भएर यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ।
प्राधिकरणको बाढी पूर्वानुमान तथा अनुगमन प्रणालीअनुसार आज राति ८ बजे गरिएको मापनमा गौरीघाट केन्द्रमा बागमतीको जलसतह २.१३ मिटर पुगेको छ। यस केन्द्रमा २.१ मिटरलाई सतर्कता तह र २.७ मिटरलाई खतराको तह मानिन्छ।
जलसतह अझै बढ्दो क्रममा रहेकाले नदीको बहाव जुनसुकै बेला खतराको तह नजिक पुग्न सक्ने आकलन गरिएको छ।
प्राधिकरणले विशेषगरी बागमती नदी किनारको करिडोर सडक भई रात्रिकालीन यात्रा गर्ने सवारीचालक, पैदलयात्री तथा नदी तटीय क्षेत्रका होचा भू-भागमा बसोबास गर्ने नागरिकहरूलाई सजग रहन र आवश्यक पूर्वतयारीमा रहन आग्रह गरेको छ।
प्रकाशित: २९ भाद्र २०८३ २१:५० सोमबार