बागलुङ नगरपालिका स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीमा अब्बल बनेको छ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलले बागलुङ उत्कृष्ट बनेको बताए।
उनका अनुसार आर्थिक वर्ष २०८०/८१ को मूल्याङ्कनमा नगरपालिका उत्कृष्ट बनेको हो। यसअघि स्थानीय तहको समग्र पक्षको मूल्याङ्कन प्रणाली (लिजा), स्थानीय तहको वित्तीय सुशासन संरचना गर्ने प्रणाली (एफआरए) र स्थानीय आर्थिक विकासको प्रवर्द्धनमा सहयोग गर्ने प्रणाली (एलइडी) को मूल्याङ्कनमा नगरपालिका अब्बल बनेको हो।
“औपचारिक घोषणा भने यही भदौ ६ गते हुनेछ तर नगरपालिका प्रदेशस्तरमै पुरस्कृत बन्ने भएको छ” महाशाखा कँडेलले भने, “सूचकअनुसारको काम, गरेका कामको समयमा अपलोड गर्ने र आर्थिक विकास तथा वित्तीय विकासलाई चुस्त बनाउन सकेको छ।”
तीन प्रणालीलाई मन्त्रालयले चालु वर्षदेखि भने स्थानीय शासन कार्यान्वयन मूल्याङ्कन प्रणाली (एलजी–पास) नामाकरण गरेको छ। उक्त प्रणालीले तीनै क्षेत्रलाई एकरूपतामा हेर्ने गर्छ। जस अनुसार ५ शीर्षकमा दुई दर्जन बढी उपशीर्षकमा अध्ययन गरेर कार्यसम्पादन मूल्याङ्कन गर्न थालेको हो।
सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र वन वातावरण तथा विपत व्यवस्थापनको क्षेत्रमा पालिकाले काम गर्ने भएकोले ती विषयगत क्षेत्रका उपशीर्षकमा मूल्याङ्कन गर्न सुरु भएको उनले बताए।
तोकेको समयमा तोकेका काम पूरा गरेर प्रविष्टी नगरेसम्म पालिकाले नम्बर पाउँदैनन्। त्यसका लागि सबै शाखा जिम्मेवार बन्ने, आइटी शाखाले तोकेको दिनमा तोकेका सामग्री अपलोड गर्नुपर्ने काम गर्नुपर्ने पनि कँडेलले बताए।
मन्त्रालयले यो वर्षको ‘स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली सम्बन्धी अभिमुखीकरण’ अभियानसमेत बागलुङ नगरपालिकाबाट थालेको छ। देशभरमै पहिलो पटक बागलुङबाट थालिएको उनले बताए।
उक्त अवसरमा नगरप्रमुख वसन्तकुमार श्रेष्ठले देखिने गरी पूर्वाधार विकास गर्ने, नागरिकले अनुभव गर्ने गरी सुशासन दिने र सरसफाइमा पनि अब्बल बनाउने लक्ष्य राखेको बताए। त्यसका लागि कर्मचारी र कार्यालय ‘स्मार्ट ’बनाउनेसमेत उनले बताए।
उपप्रमुख राजु खड्काले न्याय सम्पादन, पर्यटन प्रवद्र्धन लगायतको क्षेत्रलाई पनि चुस्त र नागरिकमैत्री बनाउने काम भइरहेको बताए। सकेसम्म सामाजिक विकासको क्षेत्रमा सक्दो काम गरेर नागरिकले महसुस गर्नेगरी योजना तर्जुमासमेत भएको उनले बताए।
प्रकाशित: २ भाद्र २०८२ ११:०७ सोमबार