रसुवाको रसुवागढी सीमा क्षेत्रमा बुधबार दुईवटा भूकम्प गएको र त्यसपछि चिनियाँ भूभागतर्फ हिमपहिरो जाँदा भोटेकोशी नदीमा उच्च गति, बहाव र गेग्रानसहितको आकस्मिक बाढी आएको प्रारम्भिक अध्ययनले देखाएको छ।
जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले भू–उपग्रहका तस्बिर तथा विभिन्न तथ्यांकको प्रारम्भिक विश्लेषणबाट सीमा क्षेत्रनजिक हिमपहिरो गएपछि अत्यधिक आकस्मिक बहाव आएको देखिएको जनाएको हो।
महाशाखाका अनुसार रसुवागढी सीमा क्षेत्र आसपास बिहान ८ः२० बजे २।६ रेक्टर स्केल तथा ८ः३७ बजे ४।४ रेक्टर स्केलको भूकम्प मापन भएको थियो। यद्यपि भूकम्प र हिमपहिरोबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि भने भइसकेको छैन।
बुधबार बिहान रसुवागढी सीमाबाट भोटेकोशी नदीमा उच्च गति, बहाव र गेग्रानसहितको बाढी प्रवेश गरेको सूचना प्राप्त भएपछि महाशाखाले जलसतह, प्रत्यक्ष सूचना तथा बाढीको प्रवाह समयका आधारमा घटनाको वास्तविक समयमै अनुगमन, विश्लेषण र पूर्वसूचना प्रवाह गरेको जनाएको छ।
त्यसैगरि महाशाखाले बिहान ९ः१५ बजेदेखि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै पूर्वसूचना जारी गरेको थियो।
नेपाल टेलिकम र एनसेलमार्फत ६ लाख ७९ हजार २९५ वटा एसएमएस पठाएर जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको महाशाखाले जनाएको छ। भोटेकोशी हुँदै त्रिशूली नदीमा पुगेको बाढी मलेखु र मुग्लिन पार गर्दै नारायणी नदीको देवघाट क्षेत्रमा पुगेको थियो। बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका विभिन्न स्वचालित जलमापन केन्द्रसमेत प्रभावित भएका छन्।
भोटेकोशी–रसुवागढी स्वचालित जलमापन केन्द्रमा बिहान ८ः४० बजे अन्तिम पटक १ दशमलव ६२ मिटर जलसतह मापन भएको थियो। उक्त केन्द्रको सतर्कता तह ६ मिटर र खतरा तह ७ मिटर रहेकोमा त्यसपछि केन्द्र नै बगेको महाशाखाले जनाएको छ।
सीमाबाट करिब ९ किलोमिटर तल स्याप्रुबेँसीस्थित जलमापन केन्द्रमा बिहान ८ः५० बजे अन्तिम पटक ३ दशमलव ८ मिटर जलसतह मापन भएको थियो। यसको सतर्कता तह ५ दशमलव ५ मिटर रहे पनि त्यसपछि केन्द्र बगेको थियो। नेपाल–चीन सीमाबाट करिब ३६ किलोमिटर तल नुवाकोटको बेत्रावतीस्थित केन्द्रले बिहान ९ः२० बजे अन्तिम पटक ३ दशमलव ५५ मिटर जलसतह मापन गरेको थियो। उक्त केन्द्रको सतर्कता तह ४ दशमलव १ मिटर र खतरा तह ५ दशमलव ५ मिटर रहेको छ।
फुर्के–मलेखु जलमापन केन्द्रमा बिहान ११ः२० बजे बाढीले सतर्कता तह ७ मिटर पार गरेको थियो। ११ः४० बजे खतरा तह ८ मिटर पार गर्दै जलसतह १० दशमलव ४८ मिटर पुगेपछि उक्त केन्द्र पनि बगेको महाशाखाले जनाएको छ। त्यस्तै, मुग्लिन नजिकको कालीखोला जलमापन केन्द्रमा दिउँसो २ः१४ बजे बाढीले १२ दशमलव १ मिटरको खतरा तह पार गरेको थियो। त्यहाँ अधिकतम १२ दशमलव ३५ मिटर जलसतह मापन भएको थियो।
देवघाट जलमापन केन्द्रमा दिउँसो ३ः२० बजे बाढी पुगेको थियो। साँझ ४ बजे जलसतह ६ दशमलव ५७ मिटरको उच्चतम बिन्दुमा पुगेपछि घट्न थालेको महाशाखाले जनाएको छ। देवघाटमा मापन भएको बहावको विश्लेषण गर्दा दिउँसो २ः१० देखि साँझ ६ बजेसम्म आधार बहावभन्दा अतिरिक्त बाढीजन्य पानीको आयतन करिब २ करोड घनमिटर रहेको प्रारम्भिक अनुमान गरिएको छ।
महाशाखाले सीमा क्षेत्रनजिक रहेको हिमपहिरो, हिमताल, हिमनदी तथा समग्र हिम क्षेत्रबारे थप अध्ययन गरिरहेको जनाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त भू–उपग्रहका तस्बिर र तथ्यांकको प्रारम्भिक विश्लेषणबाट चिनियाँ भूभागमा सीमा क्षेत्रनजिक हिमपहिरो गएको देखिएको महाशाखाको भनाइ छ। तर हिमपहिरो भूकम्पकै कारण भएको हो भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको महाशाखाले जनाएको छ।
प्रकाशित: ११ भाद्र २०८३ १२:०४ बिहीबार