नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका ४ स्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब ८ः४५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ह ३७४० नम्बरको अटो बाटो काट्दै गरेका एक बालकलाई बचाउने क्रममा चालकले अटो मोड्दा अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा घाइते हुनेमा अटो चालक सुस्ता गाउँपालिका १ निवासी ४५ वर्षीय प्रेमबहादुर जर्घा रहेका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। त्यसैगरी बर्दघाट नगरपालिका १६ निवासी अन्दाजी ७० वर्षीय मानबहादुर सिंजाली पनि घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको छ।
अन्य घाइतेहरूमा १६ वर्षीया दृष्टि सारु मगर, ३८ वर्षीया ललिसरा सारु मगर, ४० वर्षीया अनिता गाहा मगर र १६ वर्षीया निरमा गाहा मगर रहेका छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये चार जनाको लुम्बिनी सिटी अस्पताल, बुटवलमा तथा दुई जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ५ श्रावण २०८३ १२:११ मंगलबार