समाज

पर्वतमा अटो दुर्घटना: एक जनाको मृत्यु, चार घाइते

पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा शनिबार दिउँसो अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित चार जना घाइते भएका छन्।

लुङ्खुबाट बाच्छातर्फ जाँदै गरेको ध १ ह ६१ नम्बरको अटो दिउँसो करिब २:३० बजे ओरालो सडकमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका बिहादी गाउँपालिका-१ बाच्छा देउरालीका ४९ वर्षीय प्रेमबहादुर विकको उपचारका क्रममा प्रदेश अस्पताल कुश्मामा दिउँसो ३:३९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर अटो चालक फलेवास-११ पाङग्राङका ३६ वर्षीय मनबहादुर परियारसहित तीन यात्रु घाइते भएका छन्। घाइते हुने अन्य यात्रुहरूमा बिहादी-१ बाच्छा देउरालीका २४ वर्षीया कविता विक, १५ वर्षीया अञ्जुली विक र १३ वर्षीया दुर्गा विक रहेका छन्।

घाइते चारै जनाको प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: ७ भाद्र २०८३ १८:१५ आइतबार