समाज

वडाध्यक्षले अतिक्रमण गरेको जग्गामा प्राधिरकणको डोजर

टोखा नगरपालिका वडा नम्बर ७ बसुन्धरास्थित दाहाल गौडा चौकमा लामो समयदेखि अतिक्रमण भएको सरकारी जग्गामा काठमाडौं उपत्यका विकास प्राधिरकणले आइतबार र सोमबार डोजर चलाएर अतिक्रमित संरचना हटाएको छ।

उक्त जग्गामा ७ नम्बर वडा अध्यक्ष नरोत्तम राणा लगायत केही स्थानीय व्यक्तिहरूले अतिक्रमण गरी टहरा बनाएका थिए। त्यसरी बनाइएका टहरा भाडामा समेत लगाइएको थियो। ती टहराबाट स्थानीय व्यक्तिहरूले निजी लाभ लिएका थिए।

अतिक्रमण गरिएको उक्त जग्गा पूर्ण रूपमा खाली गरी सोमबार सरसफाइ समेत गरिएको प्राधिकरणकी  विकास आयुक्त जानुका ढकालले बताइन्। उनका अनुसार त्यस क्षेत्रमा अब प्राधिरकणले पार्क बनाउने भएको छ।

सहरी विकास मन्त्रालय स्रोतका अनुसार अतिक्रमित सरकारी जग्गामा डोजर चलाउन सहरी विकासमन्त्री कुमार इङनामले नै प्राधिकरणलाई निर्देशन दिएका थिए। इङनामको निर्देशनपछि उक्त क्षेत्रमा  डोजर लगाइएको प्राधिकरणका एक कर्मचारीका भनाइ छ। ती कर्मचारीका अनुसार धेरै पहिलेदेखि त्यस क्षेत्रमा  डोजर चलाउने तयारी गरिएको थियो। विभिन्न राजनीतिक दबाबको कारण डोजर चलाउन सकिएको थिएन। ‘अब केही दिनमै नयाँ सरकार बन्न लागेकाले यसपटक अतिक्रमित जग्गामा डोजर चलाउन राजनीतिक दबाब देखिएन’, स्रोत भन्छ।

प्राधिकारणले यसअघि उक्त सरकारी जग्गामा आफैं खाली गर्न र बनाइएका संरचना भत्काउन पटक–पटक सार्वजनिक सूचना निकालेको थियो। ती सूचनालाई बेवास्ता गर्दै वडा अध्यक्ष लगायत प्रभावशाली भनिएका व्यक्तिहरूले प्राधिकरणलाई डोजर चलाउन दिएका थिएनन्। पछिल्लो पटक प्राधिकरणले २०८२ असार १५ गते सूचना निकालेको थियो तर स्थानीय तह र सम्बन्धित व्यक्तिले प्राधिकरणले निकालेको सूचनालाई नटेरेपछि यसपटक जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गरी अतिक्रमित जग्गामा डोजर चलाइएको छ।

धोबीखोला कोरिडोरलगायत विभिन्न ठाउँमा अझै पनि ठूलो संख्यामा सार्वजनिक जग्गा अतिक्रमण गरिएको छ। अतिक्रमित जग्गा खाली गर्न प्राधिकरणले बेला बेलामा डोजर लगाउने गरेको छ।

प्रकाशित: १० चैत्र २०८२ ०८:५६ मंगलबार