नेपाल पत्रकार महासंघको नाममा नेपाल रिपब्लिक मिडियामा तालाबन्दी गरी प्रकाशन प्रसारणलाई अवरोधको प्रयास गरिएको छ । महासंघका पदाधिकारीको नेतृत्वमा बुधबार बिहान नागरिक दैनिक, रिपब्लिका दैनिक, नागरिकन्युज र माइरिपब्लिका अनलाइनको प्रशासन संस्थान रिपब्लिकामा तालाबन्दी गरेको भए पनि पछि स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा त्यसलाई हटाइएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनको पक्षमा वकालत गर्दै आएको एउटा सञ्चारमाध्यममाथि यसरी तालाबन्दी हुन आफैँमा दुःखद पक्ष हो ।
कुनै पनि प्रकाशन संस्थामा अवरुद्ध गर्न नहुने महासंघको विधान विपरीत रिपब्लिक मिडियामाथि अवरोध गर्न खोजिएको छ । महासंघले पत्रकारिताको विकासमा योगदान गर्नेभन्दा पनि यस संस्थामा काम छाडिसकेका कर्मचारीको विषयलाई लिएर धर्ना, तालाबन्दी र प्रकाशन संस्थाविरुद्ध नाराबाजी गर्ने काममा लगाएको छ । पारिश्रमिक वा अन्य कुनै सुविधाको विषयमा यहाँ कार्यरत बहालवाला कर्मचारीभन्दा बाहिरका व्यक्तिहरूले आक्रमणको प्रयास गरेका छन् । यहाँ कार्यरत पत्रकार तथा कर्मचारीले कामलाई निरन्तरता दिइरहेका अवस्थामा बाहिरबाट आएर प्रकाशनमा अवरोध गर्न खोज्नु निन्दनीय छ ।
नागरिक दैनिकमा कार्यरत रहेका कर्मचारीभन्दा बाहिरका व्यक्तिहरु पुगेर तालबन्दी गरेकोमा नेपाल रिपब्लिक मिडिया अध्यक्ष शोभा ज्ञवालीले आपत्ति जनाएकी छिन् । ‘नेपालको कानुन अनुसार चलेको सञ्चार गृहमा तालबन्दी गर्नु संविधानको मुल भावना र मर्म विपरित छ, यसले संविधानको उल्लंघन गरेको र सूचनाको हकबाट बञ्चित गर्न खोजेको देखिन्छ’, अध्यक्ष ज्ञवालीले भनिन ।
मिडियामा कार्यरत कर्मचारीहरु मध्ये एकाधले काम छाडेको र उनीहरुलाई पुनः काममा फर्कन गरेको आग्रहलाई समेत वेवास्ता गरिएको पनि अध्यक्ष ज्ञावालीको बताइन । ‘कम्पनीले कसैलाई जबस्जस्ती निकालेको छैन, जो बाहिर बस्नु भएको छ उहाँहरुलाई काममा आउन भनिएको छ’, उनले भनिन् । अध्यक्ष ज्ञावालीका अनुसार महांघको नाममा गरिएको यस्तो कार्यले कम्पनीमा काम गरिरहेका कर्मचारीहरुलाई समेत मानसिक तनाब दिनु निन्दनीय छ । कतिपय विषयहरु कानुनी प्रकृयामा रहेको र त्यसलाई पनि सुल्झाउने प्रकृया विधि हुँदा हुँदै महासंघको नामबाट गरिएको यस्तो गैर कानुनी विषयले चिन्तित बनाएको अध्यक्ष ज्ञावालीको भनाई छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य नेतृत्वको टोलीले बुधबार बिहान रिपब्लिका कार्यालयमा तालाबन्दी गरेको हो । नेपाल रिपब्लिक मिडियाले स्थानीय प्रशासन र प्रहरीसँगको रोहबरमा कार्यालयमा लगाएको ताला तोडेर दैनिक कामकाज सञ्चालन गरेको थियो । महासंघको तर्फबाट उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, सविता शर्मा (गोरखापत्र दैनिक) लगायतका पदाधिकारीहरु ताला लगाउन सहभागी भएका थिए ।
व्यवस्थापन पक्षले पारिश्रमिक, सरकारले तोकेको न्यूनतम पारिश्रमिक, कानुन अनुसारका सेवा सुविधा दिइरहेको अवस्थामा महासंघको नामबाट गरिएको तालाबन्दी निन्दनीय रहेको छ । व्यवस्थापन पक्षले महासंघसँग गरिएका सम्झौताको विषयमा पनि पत्रचार गरी समाधान खोज्दा समेत वेवास्ता गरेको र कतिपय विषयहरु कानुनी प्रकृयामा रहेको जनाएको छ ।
प्रकाशित: १४ माघ २०८२ २०:५३ बुधबार