छोरालाई प्रहरी जवान बनाउने सपना पूरा गर्न भेडा चराउँदै कठिन संघर्ष गरेका कपिलवस्तुको गडेरिया परिवार अहिले पाँच दिनदेखि पीडामा छ। रसुवाको मैलुङमा ड्युटीमा खटिएका २३ वर्षीय एक्ला छोरा आशिष गडरिया भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएपछि परिवारको खुसी चिन्तामा बदलिएको छ।
कपिलवस्तु नगरपालिका–४ बरईपुरका बुवा खेदु गडरिया, आमा निर्मला र श्रीमती प्रियंका आशिषको बाटो हेर्दै दिनरात बिताइरहेका छन्। घरमा कोही अपरिचित व्यक्ति आउँदा पनि आशिषको खबर आएको हो कि भन्ने आशमा उनीहरू झस्किन्छन्। तर हरेकपटक निराशा हात लाग्दा परिवारका आँखाबाट आँसु झर्छन्।
गत बुधबार बिहान करिब ९ बजे ड्युटीमै रहेका आशिषले श्रीमती प्रियंकासँग मोबाइलमा कुराकानी गरिरहेका थिए। कुराकानीकै क्रममा फोन काटियो। त्यसको करिब आधा घण्टापछि भोटेकोशीमा ठूलो बाढी आएको खबर पाएपछि प्रियंका छाँगाबाट खसेझैँ भइन्।
‘आधा घण्टापछि त्यतातिर विनाशकारी बाढी गएको थाहा पाएँ। त्यसपछि त छाँगाबाट खसेजस्तै भएँ,’ प्रियंकाले भनिन्।
विवाह भएको पाँच महिना पनि नपुग्दै श्रीमान् सम्पर्कविहीन भएपछि प्रियंका गहिरो चिन्ता र पीडामा छिन्। श्रीमान् सकुशल फर्किने आशमा दिनरात प्रतीक्षा गरिरहेकी उनी आशिषकै सम्झनामा रोइरहने गरेकी छन्।
आशिष १७ महिनाअघि प्रहरी जवानमा छनोट भएका थिए। नौ महिनाको तालिम पूरा गरेपछि उनको पहिलो पोस्टिङ रसुवाको मैलुङमा भएको थियो। उनी त्यहाँ करिब आठ महिनादेखि कार्यरत थिए। गत वैशाखमा घर आएर विवाह गरेपछि उनी पुनः ड्युटीमा फर्किएका थिए।
आशिष परिवारका एक्ला छोरा हुन्। उनका तीन दिदीबहिनीको विवाह भइसकेको छ। बुवा खेदुले कठिन श्रम गरेर छोरालाई पढाएका थिए। भेडा चराएर परिवार धान्दै छोराको भविष्य बनाएका उनले छोराले जागिर पाएपछि परिवारका दुःखका दिन सकिने आशा गरेका थिए।
‘छोरालाई बडो कष्ट गरेर भेडा पालेर पढाएको थिएँ,’ आँखा रसाउँदै खेदुले भने, ‘छोराले कमाउन थालेपछि अब केही सहज हुन्छ भन्ने लागेको थियो, तर परिवारमा बज्रपात भयो।’
छोरा सकुशल फर्कियोस् भनेर भगवान्सँग प्रार्थना गर्नुबाहेक अहिले आफूसँग अर्को विकल्प नभएको उनले बताए।
बाढीले बगाएर नवलपरासी ल्याइएका शवहरू राखिएको स्थानमा समेत खेदु पुगेर छोराको पहिचान खोजेका थिए। त्यहाँ राखिएका छ वटा शव हेर्दा पनि आशिष फेला नपरेपछि उनको पीडा झन् बढेको छ।
‘छोराको सम्झनामा रुनु र कराउनुबाहेक केही गर्न सकिएको छैन,’ खेदुले भने।
उनले आशिषको खोजीलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेका छन्।
आशिषसँगै रसुवाको बाढीपछि कपिलवस्तुका अन्य छ जना व्यक्ति पनि सम्पर्कविहीन रहेको परिवारजनले बताएका छन्।
प्रकाशित: १५ भाद्र २०८३ २२:०६ सोमबार