प्रतिनिधि सभाको निर्वाचन नजिकंदै जाँदा बिरामीको चाप घटेको उपत्यकाका अस्पतालहरुले जनाएका छन।
वीर अस्पतालमा तीनदिन घट्दै गएको बिरामीको संख्या मंगलवार थप कम बिरामी पुगेका छन। अस्पतालको टिकट काउन्टरकी कर्मचारी शर्मिला केसीका अनुसार नियमित औसत ३५ सय बिरामी आउने गरेकोमा आइतवारसम्म २५ सय जना उपचारमा पुगेका थिए। यो संख्या घटेर मंगलवार १६ सय जना पुगेका छन । अस्पतालको वार्डमा पनि बिरामी घटिसकेको अस्पतालले जनाएको छ।
त्यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पनि बहिरंग विभागमा बिरामी घटिसेका छन। अस्पतालका प्रवक्ता डा। गोपाल प्रसाद सेढाइँको अनुसार तीन दिनदेखि औसत १२ देखि १५ सय जनाबिरामी उपचारमा पुगेका छन। त्यस अघि दैनिक २ हजार बिरामी बहिरंग विभागमा पुग्थे भने स्वास्थ्य विमा वन्द हुनु अघि दैनिक २५ सय बिरामी उपचारको लागि पुग्थे। वार्डका बिरामी पनि भोट दिन जाने भन्दै छिटो डिस्चार्जको प्रस्ताव गर्ने गरेको प्रवक्ता सेढाइँले बताए। ‘ भर्ना भएका बिरामीले पनि छिटो छुट्टी दिनु भन्ने गरेका छन’ उनले भने ।
तर टिचिङले बुधबार पनि बहिरंग सेवा र नियमित शल्यक्रिया सेवा सुचारु गर्ने जनाएको छ। दुवै सेवा पहिलो सत्रसम्म मात्र सुचारु हुने र निर्वाचनको भोलिपल्टदेखि नियमित सेवा सञ्चालन हुने प्रवक्ता सेढाइँले बताए।
त्यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि निर्वाचन नजिकएसंगै बिरामीको चाप घटिसकेको जनाएको छ। अस्पतालका सूचना अधिकारी तिर्थ भुजेलको अनुसार मंगलवारसम्म आईपुग्दा ५० प्रतिशत बिरामी घटेका छन। अन्य दिन औसत २५ सय बिरामी आउने यो अस्पतालमा मंगलवार १२ सय ३० जना मात्र बिरामी बहिरंग विभागबाट सेवा लिएका छन। चुनावको दिन बाहेक अन्य दिन नियमित सेवा जारी हुने भुजेलले जानकारी दिए।
अस्पतालको नियमित तालिका अनुसार बुधवार जनरल बहिरंग विभाग मात्र सुचारु हुने, निर्वाचनको दिन आकस्मिक बाहेक सवै सेवा बन्द हुने र शुक्रवारदेखि नियमित सेवा सुचारु हुने भुजेलले बताए ।
प्रकाशित: १९ फाल्गुन २०८२ १५:४४ मंगलबार



