समाज

'अर्नब' कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत : आजदेखि वर्षा, भोलि भारी वर्षाको सम्भावना

चक्रवात अर्नब कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि नेपालमा वर्षाको जोखिम कायमै रहेको देखिएको छ। मौसमविद् विनोद पोखरेलका अनुसार प्रणालीसँग सम्बन्धित बादल नेपालमा आइपुगे पनि बिहीबार बिहानसम्म वर्षा सुरु भएको छैन।

पोखरेलले बिहीबार दिउँसोदेखि वर्षा सुरु हुने र शुक्रबार भारी वर्षाको सम्भावना बढी रहने देखिएको बताए। विशेषगरी बिहीबार रातिदेखि शनिबार बिहानसम्म सतर्क रहनुपर्ने उनले बताएका छन्।

आजको पूर्वानुमानमा बुधबारको तुलनामा कम जिल्ला जोखिममा देखिए पनि मौसमी प्रणालीले ठूलो क्षेत्र ओगटेकाले जोखिम पूर्ण रूपमा टरिनसकेको पोखरेलको भनाइ छ। माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय रेखा (अपर लेभल ट्रफ) सँग यो प्रणालीको अन्तरक्रिया हुँदा अझै धेरै स्थानमा भारी वर्षा हुन सक्ने उनले बताएका छन्।

वर्षाको स्थान, समय र मात्रा परिवर्तन हुन सक्ने भएकाले नियमित मौसम अपडेट तथा आधिकारिक सूचनामा ध्यान दिन पनि पोखरेलले आग्रह गरेका छन्।

प्रकाशित: १२ कार्तिक २०८३ ०६:५५ बिहीबार