अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा अवरुद्ध सडक सञ्चालनलाई प्राथमिकतामा राखी फौज परिचालित गरेको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पर्वत, नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, चितवन, धनुषा र तनहुँका बाढी प्रभावित क्षेत्रमा रातिदेखि नै फौज परिचालित भएका छन्।
पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्सेमा कालीगण्डकी नदी बस्तीमा पसी घरहरू बगाएको खबर प्राप्त भएपश्चात् उक्त स्थानमा फौज खटिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्नतथा सरसामान सार्न सहयोग गरिरहेको सेनाले जनाएको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यबिन्दु नगरपालिका–२ भुताहा र सुस्ता गाउँपालिका–५ स्थित सुस्ता इलाकामा डुबानको जोखिम भएकाले सैनिक फौज खट्टिई स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेका छन्।
पाल्पा माथागढी गाउँपालिका–३ लेन्दीमा पहिरोले पुरेको घरमा खोज तथा उद्धार जारी रहेको निर्देशनालयले जनाएको छ।
चितवनको भरतपुर महानगरपालिका–१ देवघाटमा र भरतपुर महानगरपालिका–३ बाह्रघरेमा नारायणी नदीको सतह बढेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा स्तान्तारण गरिएको छ।
धनुषाको मिथिला नगरपालिका–११, आपगाछी, चुरेमा पहिरोले पुरिएको घरमा खोज तथा उद्धार कार्यका लागि फौज खटिएको सेनाले जनाएको छ।
तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वीराजमार्गमा पहिरो र लेदो आई अवरुद्ध भएको सडकखण्ड काली भञ्जन गणबाट खटिएको फौजले स्थानीय निकायसँगको सहकार्यमा अवरोध हटाई सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ।
प्रकाशित: ११ आश्विन २०८३ १५:२३ आइतबार