समाज

किसानको बीउमा तस्करी देख्ने सशस्त्रले आँखैअगाडि च’क्कु चलेको देखेन

नेपाल-भारत खुला सीमामा वारिपारि आफन्तको घर आउजाउ गर्नु मधेसको पुरानो दैनिकी हो। छठजस्ता चाडपर्वमा पारिका आफन्तकहाँ प्रसाद पुर्‍याउन जाने र फर्किंदा कोसेली लिएर आउने चलन सीमामा चेकपोस्ट बस्नुभन्दा धेरै पुरानो हो।

केही दिनअघि रौतहटका चार जना किसान पनि त्यही परम्पराअनुसार भारतस्थित आफन्तको घरमा छठपूजाको प्रसाद पुर्‍याएर घर फर्किंदै थिए। फर्किंदा आफन्तले खेतीका लागि कोसेलीका रूपमा चार बोरा गहुँको बीउ दिएका थिए। घर पुग्न नपाउँदै बाटैमा सशस्त्र प्रहरीको बीओपी सरमुजवाको टोलीले उनीहरूलाई रोक्यो।

किसानले आफ्नो परिस्थिति बताए। खेतीका लागि कोसेली ल्याएको बीउ भएको सुनाए। तर, सुरक्षाकर्मीले उनीहरूको कुरा सुनेनन्  चार बोरा गहुँको बीउ नियन्त्रणमा लिइयो। स्थानीय बासिन्दाका अनुसार बीउ खोसिएको भन्दा पनि सुरक्षाकर्मीले प्रयोग गरेको अपमानजनक शब्द र किसानमाथि लगाएको तस्करीको आरोपले गाउँभरि आक्रोश फैलायो।

आफ्नै खेतमा छर्न ल्याएको बीउ बोकेका किसानलाई तस्करसरह व्यवहार गरिएको घटना सीमावर्ती बस्तीमा छिट्टै फैलियो। सीमामा हुने अवैध कारोबार रोक्नु सुरक्षा निकायको काम हो भन्नेमा यहाँका सर्वसाधारणको कुनै विमति छैन।

तर, वास्तविक तस्कर र सामान्य किसान छुट्याउन नसक्ने वा नचाहने प्रवृत्तिप्रति गाउँलेको चित्त दुखेको छ। कानुन कार्यान्वयनको नाममा सोझा सर्वसाधारणलाई हप्काउने र अनावश्यक दुःख दिने गुनासो सीमामा पहिलेदेखि नै थियो, चार बोरा गहुँको बीउ प्रकरणले त्यसलाई झन् सतहमा ल्याइदियो।

किसानका चार बोरा गहुँको बीउमा त्यति नजर राख्ने सशस्त्र प्रहरीको सक्रियता मंसिर ६ गते भने एकाएक हरायो। त्यो दिन गौर-चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत यमुनामाई गाउँपालिका-५ झुनखुनवा चोकबाट करिब ५० मिटर दक्षिणमा राजपुर नगरपालिका-१ भगवानपुरका ३५ वर्षीय राजेश यादवमाथि दिनदहाडै धारिलो चक्कु प्रहार भयो।

अपरिचित व्यक्तिको आक्रमणबाट यादव रक्ताम्य भएर ढले।

घटना भएको ठाउँबाट नजिकै सशस्त्र प्रहरीको टोली चेकजाँचमा खटिएको थियो। आक्रमणकारी भाग्दै गरेको देखेर स्थानीयले गुहार मागे। तत्कालै पिछा गरेर आक्रमणकारी समात्न सुरक्षाकर्मीलाई आग्रह गरे। तर, त्यहाँ रहेका सुरक्षाकर्मीले ‘यो हाम्रो इलाका होइन’ भन्दै हस्तक्षेप नगरेको स्थानीयको आरोप छ।

आँखैअगाडि मान्छेमाथि चक्कु चल्दा पनि वर्दीधारी टोलीले आक्रमणकारी समात्न अग्रसरता नदेखाएपछि स्थानीयको आक्रोश सडकमै पोखियो। आक्रोशित भीडले गौर-चन्द्रनिगाहपुर सडक अवरुद्ध गर्‍यो। सुरक्षा व्यवस्थाप्रति नाराबाजी र विरोध चलिरहँदा गम्भीर घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइयो। त्यहाँ प्राथमिक उपचारपछि अवस्था गम्भीर देखिएकाले चिकित्सकले उनलाई वीरगन्ज रेफर गरे।

घटनाको चौतर्फी आलोचना भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटका गणपति एसपी चेतराज जोशीले आफ्नो तर्फको विवरण सुनाए। उनका अनुसार त्यतिबेला त्यहाँ रहेको बीओपी सरमुजवा बंकुलको टोली नियन्त्रणमा लिएको सामान बुझाएर फर्किने क्रममा थियो।

घटनास्थल बंकुल बीओपीको आधार इलाकाभित्र नपर्ने भएकाले तत्कालै अर्को टोली परिचालन गरिएको एसपी जोशीले बताए।

उनका अनुसार घटनालगत्तै फतुवा बेसलाई परिचालन गरिएको थियो। तर, फतुवा बेस घटनास्थलबाट टाढा भएकाले टोली आइपुग्नुअघि नै आक्रमणकारी भागिसकेका थिए। घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल पठाउन सशस्त्र प्रहरीले नै एम्बुलेन्समा राखिदिएको दाबी एसपी जोशीले गरे।

एसपी जोशीको यही भनाइमा रौतहटका बासिन्दाले अर्को विडम्बना देखेका छन्। जुन बीओपी सरमुजवा बंकुलको टोली जफत गरेको सामान बुझाएर फर्किंदै थियो, त्यही टोलीको आँखाअगाडि मान्छेमाथि चक्कु चल्दा इलाकाको पर्खाल ठडियो।

तस्करीको सामान बोकेर अर्को इलाका हुँदै हिँड्न मिल्ने, तर त्यही सडकमा घाइते रक्ताम्य हुँदा र आक्रमणकारी भाग्दा भने इलाकाको नक्सा हेरेर फतुवा बेसको बाटो कुर्नुपर्ने अवस्था कसरी आयो ? स्थानीयले अहिले यही कुरा बुझ्न सकेका छैनन्।

रौतहटमा ‘इलाका’ को सिमाना देखाएर पन्छिएको सशस्त्र प्रहरी चार दिनपछि छिमेकी जिल्ला बारामा भने आफ्नै नियमको सिमाना नाघेर विवादमा तानियो। मंसिर १० गते बाराको कोल्हवी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नगर सचिव मनोजप्रसाद चौधरीकी आमा सरली थरुनीको अन्त्येष्टि थियो।

अन्त्येष्टिमा रास्वपाका बारा क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा सदस्य गणेश धिमालसमेत सहभागी थिए। त्यही बेला सशस्त्र प्रहरीका ११ जना कर्मचारीको टोली त्यहाँ पुग्यो र सरली थरुनीको अन्त्येष्टिमा औपचारिक शोक सलामी दियो।

चौधरी सशस्त्र प्रहरीका पूर्वकर्मचारी हुन्। संगठनको नियमअनुसार बहालवाला कर्मचारीका आफन्तको निधन हुँदा शोक सलामी दिने परम्परा छ, तर जागिर छाडिसकेका पूर्वकर्मचारीका आफन्तलाई फौजी टोली खटाएर सलामी दिने व्यवस्था छैन।

नियमविपरीत पूर्वकर्मचारीको पारिवारिक अन्त्येष्टिमा ११ जनाको टोलीले सलामी दिएको खबर बाहिरिएपछि बारादेखि काठमाडौंसम्म चर्चा सुरु भयो।

विवाद बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका गणपति एसपी विशाल सिलवालले त्रुटि भएको स्वीकार गरे। चौधरी अझै बहालवाला कर्मचारी नै रहेको भन्ने जानकारीका आधारमा टोली पठाइएको उनको भनाइ छ। पछि उनी अवकाशप्राप्त कर्मचारी रहेको खुलेपछि कसको आदेशमा टोली खटाइयो भन्नेबारे संगठनभित्रै छानबिन थालिएको एसपी सिलवालले बताए।

यता, मनोजप्रसाद चौधरीले भने यो विषयलाई फरक ढंगले व्याख्या गरेका छन्। आफू कुनै सार्वजनिक पदमा नरहेको र पूर्वकर्मचारी भएकाले आफूले विगतमा सेवा गरेको संगठनबाट आमाप्रति सम्मानस्वरूप शोक सलामी दिइएको उनको दाबी छ।

तर, बाराको यो घटनाले सशस्त्र प्रहरीको आन्तरिक व्यवस्थापन कति फितलो छ भन्ने देखाइदियो। सम्बन्धित व्यक्ति अझै सेवामा छन् कि अवकाश पाइसके भन्ने सामान्य अभिलेखसमेत नहेरी ११ जना सुरक्षाकर्मीको टोली खटाइनु सामान्य भुल मात्र मान्न स्थानीय तयार छैनन्।

राजनीतिक दलका नेता र सांसद उपस्थित कार्यक्रममा व्यक्तिगत चिनजान वा अपुष्ट सूचनाकै भरमा फौजी टोली पठाइँदा संगठनको अनुशासन र निष्पक्षतामाथि स्वाभाविक शंका उब्जिएको छ।

रौतहटको सरमुजवामा किसानको गहुँको बीउ खोसिएको घटना, झुनखुनवामा चक्कु चल्दा देखाइएको इलाकाको तर्क र बाराको कोल्हवीमा नियम नहेरी दिइएको सलामी- यी तीनवटा घटनालाई जोडेर हेर्दा मधेसमा सशस्त्र प्रहरीको प्राथमिकता कता ढल्किएको छ भन्ने प्रस्ट चित्र आउँछ।

सशस्त्र प्रहरीको ध्यान नागरिकको सुरक्षाभन्दा तस्करीका मालसामान बरामद गर्नेतर्फ बढी भएको सीमा क्षेत्रका बासिन्दाको आरोप छ। सामान बरामद गर्दा आउने कमिसनको लोभमा सुरक्षाकर्मीहरू आफ्नो आधार इलाकाभन्दा धेरै टाढासम्म पुगेर छापा मार्न पछि पर्दैनन्। तर, नागरिकको जीउधनमाथि आक्रमण हुँदा वा संकट पर्दा भने उही सक्रियता हराउँछ।

सशस्त्र प्रहरीको जिम्मेवारी भन्सार छलीका सामान समात्ने र सीमाको ढाटमा चेकजाँच गर्नेमा मात्र सीमित छैन। सीमा सुरक्षासँगै विपद् व्यवस्थापन, अपराध नियन्त्रणमा अन्य सुरक्षा निकायसँग समन्वय र आम नागरिकको जीवनरक्षा गर्नु पनि उसको उत्तिकै महत्त्वपूर्ण दायित्व हो।

कुनै घटना आफ्नो प्रत्यक्ष बीओपीको कार्यक्षेत्रमा नपर्ने अवस्था आउन सक्छ। तर, प्रशासनिक सहजताका लागि कोरिएको इलाकाको सिमानाले आँखैअगाडि अपराध हुँदा हात बाँधेर बस्ने छुट दिँदैन।

त्यस्तो घडीमा पीडितलाई तत्काल जोगाउने, आक्रमणकारी रोक्न प्रयास गर्ने र नजिकका प्रहरी एकाइसँग तुरुन्त समन्वय गर्ने काम कुनै पनि सुरक्षाकर्मीको पहिलो कर्तव्य हो।

प्रकाशित: ११ मंसिर २०८३ १९:५५ शुक्रबार