समाज

पोशाक दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो बनाएकोप्रति सशस्त्र प्रहरीको गम्भीर ध्यानाकर्षण

सशस्त्र प्रहरीले संगठनको पोशाक दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो प्रसारण गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपालका अनुसार कम्ब्याट ड्रेसको पाइन्ट लगाई सडक पेटीमा सुतिरहेका व्यक्तिको भिडियो बनाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रसारण भइरहेको विषयमा संगठनको ध्यानाकर्षण भएको जनाएको हो । सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार  भिडियोमा देखिएका व्यक्ति सशस्त्र प्रहरी बल, नेपालका सदस्य नभएको कुरा स्पष्ट पारिएको छ।

यसबाट आम नागरिकमा भ्रम सिर्जना हुन सक्ने भन्दै संगठनको पोशाक दुरुपयोग गरी त्यस्तो गतिविधिको भिडियो बनाएर सामाजिक सञ्जालमा प्रसारण गर्ने व्यक्तिहरूविरुद्ध प्रचलित कानूनबमोजिम आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

भिडियो बनाउनेलाई कारबाहीका लागि साइबर ब्युरोमा उजुरी दिएको डिएसपी थापाले बताए । एक व्यक्ति सशस्त्र प्रहरी बलको पोशाक लगाएर सडक पेटीमा लडिरहेको भिडियो सामाजिक संजालमा फैलिएको थियो ।

प्रकाशित: १ मंसिर २०८३ १९:४६ मंगलबार