समाज

डुवानमा परेकाको उद्धार तथा खोजीमा खटियो सशस्त्र

अविरल वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका विभिन्न स्थानमा भएको डुवानमा परेकाको राहत र उद्धारमा सशस्त्र प्रहरी खटिएको छ ।  

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ जमुनाघारी स्थित पटराखल्ला टोलमा जोगबुडा नदीको पानीको बहाव बढ्दा गाउँबस्ती डुवान भएको छ ।  

यो स्थानमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म देविस्थानको सुरक्षा फौजले स्थानीय बासीन्दालाई जमुना आधारभुत विद्यालयमा सुरक्षित साथमा सारेको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार  जोगबुढा नदीमा पानीको बहाव बढ्दा जर्काटोलमा पानी पसेको छ । डुवानमा परेको यो स्थानका स्थानीयलाई जनज्योति माध्यामिक विद्यालय देउरालीघाटमा सारिएको छ ।  

७ र १० नम्बर वडाका सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कञ्जभोज र सुन्दरनगरको ब्यारेक परिसर पनि डुवान भएकाले सामान सुरक्षित ठाउँमा सारिएको छ ।

यसैगरी ताप्लेजुङको सिरीजंघा गाउँपालिका–१ सिनामस्थित काबेली खोलामा पानीको बहाव बढेपछि निर्माणाधिन अपर काबेली हाईड्रोपावरको पावर हाउसमा राखेका २ वटा स्काभेटर र २ वटा टिपर बगाएको छ ।  

यो स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सिनामबाट खटिएको टोलीले खोजी गरेको थियो । टिपर बेपत्ता नै भएको छ भने स्काभेटर पावरहाउसदेखि २० मिटर तल डुबेको अवस्थामा फेला परेको छ ।

प्रकाशित: १६ भाद्र २०८२ १९:२४ सोमबार