समाज

थबाङ गाउँपालिकाका हाकिमसहित सातै जना कर्मचारी सम्पर्कमा

विगत तीन दिनदेखि सम्पर्कविहीन भएका भनिएका रोल्पास्थित थबाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतसहित सात जना कर्मचारी सम्पर्कमा आएका छन्। उनीहरू बिहीबार (आज) बिहान ७ बजेतिर गाउँपालिकाको सम्पर्कमा आएका हुन्।

गाउँपालिका अध्यक्ष ऋषिकेशब बुढामगरलाई प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरले फोन गरेर आफूहरू सकुशल अवस्थामा रहेको जानकारी गराएका हुन्। गाउँपालिका अध्यक्ष बुढाले प्रमुख प्रशासकीय अधिकृत घर्तीसहित सबै कर्मचारी सम्पर्कमा आइसकेको बताए।  

‘मलाई आज बिहान ७ बजेर ५ मिनेटमा हाकिमले आफैँ फोन गर्नुभयो र हामी गुल्मी जिल्लामा छौं, आज कार्यालयतिर फर्किँदै छौं भनेर भन्नुभयो,’ अध्यक्ष बुढाले नागरिकसँग टेलिफोनमा भने, ‘मैले किन यति दिनसम्म फोन अफ गरेर बस्नु भयो? के समस्या पर्यो र त्यस्तो? भनेर प्रश्न गर्दा फोन काट्नु भयो, त्यसपछि उहाँसँग सम्पर्क भएको छैन।’ त्यसअघि प्रमुख प्रशासकीय अधिकृत घर्ती रोल्पाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको सम्पर्कमाआएर आफूहरू सकुशल अवस्थामा रहेको जानकारी गराएका थिए।  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घर्तीसहित सहायक प्रशासन पाँचौँ तहका हरिष माझी, सह–लेखापाल यज्ञप्रसाद कँडेल, सब–इन्जिनियर चन्द्र प्रकाश ओली, निशा आचार्य, खा.पा.स.टे. शिवकुमार ओली र सवारी चालक प्रदीप केसी सम्पर्कविहीन भएका थिए। थबाङ गाउँपालिका अध्यक्ष बुढामगरले बुधबार विज्ञप्ति नै जारी गरेर सम्पर्कमा आउन भनेका थिए।

यस विषयमा बुझ्न प्रमुख प्रशासकीय अधिकृत घर्तीलाई नागरिकन्युजले फोन सम्पर्क गर्दा उनले उठाएनन्। अध्यक्ष बुढाका अनुसार रोल्पा निवासी प्रमुख प्रशासकीय अधिकृत घर्ती करिब ३२ महिनादेखि उक्त गाउँपालिकामा कार्यरत छन्।

प्रकाशित: २६ असार २०८२ १०:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App