विद्यालयको बिदाइको क्रममा पोसाकमा साथीभाइले विभिन्न सन्देश लेखिदिने चलन छ। विगतका समयमा यस्ता सन्देश एक अर्काको सम्झनामा लेखिने गरिन्थ्यो। पछिल्लो समय विद्यालयको बिदाइ सन्देशमा समेत मुलुकको अवस्था चित्रित हुँदै छ।
कहिले ’खाडीमा भेटौला’ त कहिले सहसचिव बनौला भन्ने भावका सन्देश सामाजिक सञ्जालमा भाइरल बनेका छन्। पछिल्लो समयमा फेरी अर्को सन्देश भाइरल भएको छ– ‘बालेन सरकार बन्दै छ, विदेश जानु पर्दैन।’
सामाजिक सञ्जालमा भाइरल यो तस्बिरमा स्कुल ड्रेसको पछाडि देशभित्रै रोजगारीको आशा व्यक्त गरिएको छ।
‘बालेन सरकार बन्दै छ, साथीहरू अब रोजगारी नेपालमै पाइन्छ,’ तस्बिरमा एक छात्राको सेतो सर्टमा लेखिएको छ, ‘विदेश जानु पर्दैन...’। उक्त सन्देशले अहिले युवापुस्तामा बढ्दो विदेश पलायनप्रतिको चिन्ता र देशमै अवसर खोज्ने चाहनालाई प्रतिबिम्बित गरेको देखिन्छ।
यो सन्देश विशेष गरी बालेन्द्र शाहको नेतृत्वप्रति युवाहरूको आशा र भरोसासँग जोडिएको रूपमा व्याख्या गरिएको छ। स्वतन्त्र उम्मेदवारका रूपमा उदाएका बालेनले भ्रष्टाचारविरुद्ध कडा कदम र सुशासनको एजेन्डा अघि सारेपछि धेरै युवाहरूमा नयाँ आशा जागेको छ।
‘हो नयाँ सरकारसँग हामीलाई पनि धेरै आशा जागेको छ,’ भाइरल तस्बिरमा प्रतिक्रिया जनाउँदै विक्रम अर्याल लेख्छन्, ‘यो विश्वासमा ठेस नलागोस्।’
यो तस्बिरका अनुसार यी विद्यार्थी महेन्द्र माध्यमिक विद्यालय दाङमा अध्ययन गर्ने देखिन्छ । ऊनीसँग सम्पर्क हुन नसकेपति सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई ‘युवाको आवाज’ भन्दै व्यापक रूपमा साझा गरिरहेका छन्।
‘यो अभिव्यक्ति केवल एक विद्यार्थीको व्यक्तिगत सन्देश मात्र नभई, वर्तमान अवस्थामा ठुलो सङ्ख्यामा युवाहरूले भोगिरहेको बेरोजगारी र विदेश जानुपर्ने बाध्यताको विरुद्धको मनोभाव हो,’ समाजशास्त्री विदुर लामिछाने भन्छन्, ‘ पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका लागि दैनिक हजारौँ नेपाली युवाहरू बिदेसिने क्रम बढिरहेको छ।’
यसै सन्दर्भमा, उक्त सन्देशले देशमै अवसर सिर्जना हुनुपर्छ भन्ने जनअपेक्षालाई पुनः उजागर गरेको देखिन्छ।बालेनको नेतृत्वले भ्रष्टाचार र कुशासनविरुद्ध जनआक्रोशलाई प्रतिनिधित्व गरेको छ ।
फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बालेनको नेतृत्वमा नयाँ सरकार गठनको तयारीमा तीव्र रूपमा जुटेको छ। पार्टीले आफ्ना नवनिर्वाचित सांसदलाई दुई दिने विशेष प्रशिक्षण सञ्चालन गरिरहँदा, सरकारको नेतृत्वका लागि आन्तरिक रणनीति पनि समानान्तर रूपमा अघि बढाइएको छ।
‘भावी प्रधानमन्त्री’ का रूपमा हेरिएका बालेन्द्र शाह (बालेन) भने प्रशिक्षणमा सहभागी नभई सरकार निर्माणका लागि आवश्यक टिम गठनमा केन्द्रित छन्। उनले सम्भावित मन्त्रिमण्डलको आकार, सदस्य छनोटका मापदण्ड र सरकारको प्रारम्भिक कार्यसूचीबारे छलफललाई तीव्र बनाएका छन्।
शीर्ष नेताहरूबिचको छलफल मुख्यतः सक्षम, स्वच्छ छवि भएका र परिणाममुखी काम गर्न सक्ने व्यक्तिलाई मन्त्रिमण्डलमा समावेश गर्नेमा केन्द्रित छ। साथै, सरकार बने लगत्तै सुशासन, सेवा प्रवाह सुधार र आर्थिक सक्रियता बढाउने योजनालाई प्राथमिकतामा राख्ने तयारी रास्वपाले गरेको छ। रास्वपाको घोषणापत्रमा समेत वैदेशिक रोजगारीमा जाने अवस्थाको कमि गर्दै लैजाने उल्लेख छ ।
यस्तोमा नयाँ सरकाबाट आशा गर्नेको जमात बढेको छ ।स्वदेशमा रहेकाहरू विदेश जानु नपरोस् भन्ने भावमा छन् भने विदेशमा रहेकाहरू स्वदेशमै केही गर्ने इच्छा जाहेर गर्दै छन्।
‘मुलुकमा राम्रो अवस्था आयो भने हामी स्वदेशमै फर्कने तयारीमा छौ,’ दुबई काम गर्दै आएका प्रमोद कार्की भन्छन्, ‘हामीले नयाँ सरकारले मुलुकमा दोहोराउने आशा पालेका छौ।’ वैदेशिक रोजगारबाट सिप र अनुभव आर्जन गरी स्वदेशमै उत्पदानमूखी उद्यम सञ्चालन गर्न चाहने उद्यमीलाई व्याजमा विशेष अनुदार र प्राविधिक सहयोग उपलब्ध गराउने रास्वपाको नीति बुझेका कतिपयले यही आएर केही गर्ने सोच बनाएका हुन्।
उनीजस्तै अन्य युवाहरूमा ठुलो आशा र आत्मविश्वास बढेको छ । देशभित्रै अवसर सिर्जना हुने अपेक्षा बलियो बनेको छ। विदेश जानु पर्ने अवस्थाका अन्त्य गर्ने र विदेशमा रहेकालाई समेत स्वदेशमै केही गर्ने वातावरण तयार गर्ने सरकारले मुलुकको नेतृत्व लिँदै गरेकाले यस्तो अपेक्षा देखिएको हो। ‘बहुमतको सरकार छ, राम्रो काम गर्नलाई केहीले रोक्ने अवस्था छैन,’ विकाश लामा भन्छन्, ‘यस्तामा आम नेपालीले स्वदशमै अवसर देख्न सुरु गरेका हुन्।’
प्रकाशित: ४ चैत्र २०८२ १०:३९ बुधबार



