सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन बजार नजिकै पहिरो खसेपछि दिउँसो २:१० बजेदेखि सडक दुवैतर्फ बन्द भएको हो। पहिरो हटाउन एउटा डोजरसहितको उपकरण परिचालन गरिसकिएको छ भने थप दुईवटा उपकरण घटनास्थलतर्फ पठाइएको जनाएको छ।
कार्यालयका अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन करिब ४५ मिनेट लाग्ने अनुमान गरिएको छ।
यसअघि पनि सोमबार बिहान यही सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेका कारण यातायात प्रभावित भएको थियो। बिहानको पहिरो हटाएपछि सडक एकतर्फी हुँदै पछि दुवैतर्फ सञ्चालनमा ल्याइएको थियो।
तर केही समयमै पुनः पहिरो खसेपछि सडक फेरि पूर्ण रूपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। यात्रुलाई सुरक्षित स्थानमा बस्न र सडक सञ्चालनसम्बन्धी आधिकारिक सूचना आएपछि मात्र यात्रा गर्न आग्रह गरिएको छ।
प्रकाशित: १८ श्रावण २०८३ १५:०८ सोमबार