समाज

पाकिस्तानमा पढेका नेपालीको ‘ग्रान्ड रियुनियन’

काठमाडौंस्थित पाकिस्तानी दूतावासले पाकिस्तानका विभिन्न शैक्षिक संस्थाहरूमा अध्ययन पूरा गरेका नेपाली पूर्वविद्यार्थीहरूका लागि वार्षिक जमघट कार्यक्रम आयोजना गरेको छ।

राजधानीको सोल्टी होटलमा सम्पन्न उक्त कार्यक्रममा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले ‘पाकिस्तान-नेपाल एलम्नाइ नेटवर्क’ स्थापना गर्ने घोषणा गरिएको छ।

पाकिस्तानी संस्थाहरूबाट दीक्षित नेपाली विद्यार्थीहरूलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै दूतावासले उक्त भव्य कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा पाकिस्तान सरकारको छात्रवृत्ति तथा निजी खर्चमा अध्ययन गरेका करिब ४५० जना पूर्वविद्यार्थी, नेपालका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति थियो।

सो अवसरले पूर्वविद्यार्थीहरूलाई एकआपसमा पुनः जोडिने, पुराना स्मृतिहरू ताजा गर्ने र दुई देशका जनताबीचको सम्बन्धलाई अझ बलियो बनाउने अवसर प्रदान गरेको थियो।

कार्यक्रममा बोल्दै नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच. हाश्मीले यस्ता जमघटले दुई देशबीचको आपसी समझदारीलाई बलियो बनाउन अमूल्य मञ्च प्रदान गर्ने बताए।

उनले अधिकांश पूर्वविद्यार्थीहरूले पाकिस्तानको संस्कृति, खाना र आतिथ्यताको अनुभव गरेको स्मरण गर्दै यसले चिरस्थायी सम्झना र आपसी सम्मान सिर्जना गरेको उल्लेख गरे।

राजदूत हाश्मीले हालसम्म ४ हजार भन्दा बढी नेपाली विद्यार्थीहरूले पाकिस्तानी संस्थाहरूबाट स्नातक गरेको र उनीहरूले नेपालको विकास तथा विश्वभर डायस्पोरामा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको सुनाए।

सहभागी पूर्वविद्यार्थीहरूले दूतावासले गरेको बृहत् जमघटको प्रशंसा गर्दै नेपाल र पाकिस्तानबीचको सांस्कृतिक, शैक्षिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्न आफ्नो प्रतिबद्धता व्यक्त गरे।

उनीहरूले सूचना प्रविधि (आईटी), आर्टिफिसियल इन्टेलिजेन्स (एआई), चिकित्सा नवप्रवर्तन जस्ता आवश्यकतामा आधारित विषयहरूमा तालिम र शिक्षाको विस्तारमा जोड दिएका थिए।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा ‘पाकिस्तान-नेपाल एलम्नाइ नेटवर्क’ को स्थापना गर्ने घोषणा गरिएको थियो। उक्त घोषणाप्रति उपस्थित पूर्वविद्यार्थीहरूले निकै उत्साह व्यक्त गरेका थिए।

प्रकाशित: ३० कार्तिक २०८२ १९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App