समाज

कपिलवस्तु कारागारका एक कैदीको मृत्यु

बिरामी भई अचेत भएका कपिलवस्तु कारागारका कैदीको मृत्यु भएको छ ।

गत कार्तिक १५ गते खाना खाए पछि अचानक अचेत भएका ३४ वर्षीय मोहम्मद तप्सिर जोलाहा भनिने मोहम्मद तफ्सिर अन्सारीको मृत्यु भएको हो । उनको मृत्यु ४ दिन अघि भए पनि बिहीवार मात्र मृत्युको खबर बाहिर आएको हो।

कारागार प्रशासक शेरबहादुर भण्डारीका अनुसार खाना खाइसकेपछि अन्सारी एक्कासि बेहोस भएका उनलाई तत्काल उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा पुर्‍याइएको थियो । 

अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । यस अघि पनि मृतक कारागारमा अचेत भएका थिए । प्रशासक भण्डारीले अन्सारीको मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने बताए ।

कपिलवस्तु कारागारमा दुईवटा ब्लकमा गरी हाल ४२४ जना कैदीबन्दी रहेका छन् ।

प्रकाशित: १९ कार्तिक २०८३ २०:०२ बिहीबार