नेपालगन्ज विमानस्थलको गेट पार गर्ने बित्तिकै यात्रुहरूलाई देखिने पहिलो दृश्य हो, ‘राँझा बजार’। बाहिरबाट आउने पाहुनाका लागि यो बजार बाँकेको ‘पहिलो छाप’ बनेको छ । यतिबेला राँझामा पुगेको कोही पनि सहजै भन्न सक्छ बाँके विकासको बाटोमा छ, तर विकासको रूपरेखा अझै अधुरो छ । राँझा बजार बाँकेको मात्र होइन, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थुप्रै जिल्लाको प्रवेशद्वार हो । विमानस्थलबाट बाहिर निस्किएर सीधै यात्रामा लाग्ने धेरैजसो यात्रुहरू नेपालगन्ज सहर छिर्नै पर्दैन । उनीहरूको पहिलो र अन्तिम भेट हुने ठाउँ यही बजार हो । यसैले राँझा बजारलाई ‘मिनी बाँके’ पनि भनिन्छ ।
तर, दुर्दैव बाँकेको प्रवेशद्वार मानिने राँझा बजारले आज पनि नियोजित विकासको स्वाद चाख्न पाएको छैन । सडक छेउमै अस्थायी टहरा पसारिएका, अव्यवस्थित घुम्ती, राति अँध्यारो सडक, अनियमित पार्किङजस्ता समस्या हेर्दा लाग्छ, ‘यो त बाँकेको विकासको ‘अधुरो प्रतिबिम्ब’ हो ।’ नेपालगन्जलाई प्रादेशिक व्यापारिक केन्द्रको रूपमा चिनिन्छ। यहाँका अस्पताल, उद्योग, शैक्षिक संस्था, होटेल, बैङ्किङ सेवालगायतका कारण बाँकेले विकासको गति लिइरहेको छ। तर, नेपालगन्ज विमानस्थल पार गरेर बाहिरिने यात्रुले भने बाँकेको विकासको त्यो गति देख्दैनन् । उनीहरूको नजरमा पर्छ, ‘राँझा बजारको अस्तव्यस्त रूप ।’ ‘यहाँको अवस्था हेरेरै कतिपयलाई लाग्छ, बाँकेको विकास यही हो कि,’ स्थानीय व्यवसायी भन्छन्, ‘तर वास्तविक विकास त नेपालगन्ज सहरमा छ, जुन उनीहरूले देख्दैनन् ।’
यसैले राँझा बजारलाई व्यवस्थित बनाउन सकिए बाँकेको विकासको सही चित्र बाहिर प्रस्तुत गर्न सकिन्छ । राँझा बजारमा हिँड्दा यात्रुले सबैभन्दा पहिले अनुभव गर्छन्, ‘सुरक्षित फुटपाथको अभाव ।’ बजारमा हिँड्ने मानिसले सधैं सवारीसाधनसँगै ज्यान जोखेर अघि बढ्नुपर्छ । सडक छेउका अस्थायी टहरा र पसलले पैदल यात्रुलाई झनै पीडित बनाएको छ । दैनिक यात्रुहरूमध्ये काठमाडौँ, सुर्खेत वा दाङबाट विमान चढ्न आएका धेरैजसोले यही बाटो प्रयोग गर्छन् । ‘यहाँ त सडकमा हिँड्दा पनि डर लाग्छ,’ विमानस्थलबाट फर्कँदै गरेका एक यात्रुले भने, ‘सडकमा लाइनै छैन, घुम्तीहरू अति खतरनाक छन् ।’
साँझपख अर्को समस्या थपिन्छ, ‘अँध्यारो’। सडक बत्ती छैनन् । यसले दुर्घटना मात्र बढाउँदैन, चोरी–डकैतजस्ता गतिविधिको जोखिम पनि बढाउँछ । यसबाहेक अनियमित पार्किङ अझ ठूलो समस्या बनेको छ । यसरी हेर्दा बाँकेको विकास र राँझाको स्वरूपबिच ठूलो अन्तर देखिन्छ । यद्यपि समस्या धेरै भए पनि राँझा बजारमा सम्भावना अझ बढी छ । विमानस्थल नजिकै भएकाले यो ठाउँलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्न सकिन्छ । यात्रुका लागि व्यवस्थित होटेल, रेष्टुरेन्ट, शपिङ कम्प्लेक्स निर्माण गर्न सकिन्छ । स्थानीय कृषि उत्पादन र घरेलु सामग्रीलाई प्राथमिकता दिने बजार स्थापना गर्न सकिन्छ । यसले बाँके मात्र होइन, वरपरका किसानलाई समेत लाभ दिन्छ । ‘यदि यहाँ किसानका उत्पादन बिक्री गर्ने ठाउँ बनाइयो भने स्थानीयले प्रत्यक्ष लाभ पाउँछन्,’ सावित्रा लामा भन्छिन् । राँझा बजारलाई पर्यटकमैत्री बनाउने हो भने बाँकेको छविमा ठूलो सकारात्मक परिवर्तन आउने स्थानीयहरूको धारणा छ ।
यो वडा २० नम्बर वडामा पर्छ । वडाध्यक्ष कौशलकुमार धोबीले नगर सभामा कयौंपटक राँझालाई साँझा विकासका रुपमा हेर्नुपर्ने धारणा राख्दै आएका छन् । यसले जिल्लाको परिचय बोक्ने राँझाको सडकलाई थप व्यवस्थित र पर्यटकमैत्री बनाउन नगरको ध्यानाकर्षण गराउँदै आएका छन् तर, नगरले उनको मागलाई गम्भीरताका साथ लिएको छैन ।
राँझा बजार केवल एउटा साधारण व्यापारिक केन्द्र होइन, यो बाँकेको प्रवेशद्वार हो । यही बजारबाट बाहिरिने यात्रुले बाँकेको विकासको पहिलो झलक देख्छन् । तर अहिलेको अवस्थाले बाँकेको वास्तविक विकास कथालाई सहीसँग प्रस्तुत गर्न सकिरहेको छैन । फुटपाथ, सडक, बत्ती, पार्किङ, फोहोर व्यवस्थापन, हरियाली यी आधारभूत काम पूरा गर्न सके राँझा बजार बाँकेको गर्व बन्न सक्छ । यहाँको अनुहार सुधार्नु भनेको बाँकेको सम्पूर्ण छविलाई उज्यालो पार्नु हो । आज राँझा बजार केवल अव्यवस्थित छ, भोलि यसलाई व्यवस्थित बनाउन सकियो भने बाँकेको विकासको कथा अझ प्रखर र विश्वसनीय हुनेछ ।
प्रकाशित: ४ भाद्र २०८२ १७:२६ बुधबार