समाज

चोभारको पानी निकासमा वैकल्पिक सुरुङ बनाउनुपर्छ : मदनकृष्ण श्रेष्ठ

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौं उपत्यकामा बाढी तथा डुबानको जोखिम न्यूनीकरण गर्न चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्। 

काठमाडौं महानगर प्रहरी बलको आइतबार आयोजित ३४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै श्रेष्ठले उपत्यकाका विभिन्न स्थानबाट जम्मा हुने पानी अन्ततः चोभारतर्फ निकास हुने भएकाले त्यहाँको निकास क्षमता बढाउनुपर्ने बताए। 

उनले चोभारको पानी निकासको चौडाइ र गहिराइ पर्याप्त नभएको भन्दै त्यहाँ कुनै क्षति भए त्यसको परिणाम भयावह हुन सक्ने बताए। भविष्यमा आउन सक्ने विपद्बाट जोगिन अहिले नै वैकल्पिक पानी निकासको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। 

‘काठमाडौं उपत्यका पनि जोखिममुक्त छैन। यहाँ ठूलो जनघनत्व छ र धेरै ठाउँबाट पानी आएर अन्ततः चोभारतर्फ निकास हुन्छ। चोभारको निकास क्षमता पर्याप्त नभए ठूलो विपद् निम्तिन सक्छ,’ श्रेष्ठले भने। 

उनले चोभारको जोखिम कम गर्न वैकल्पिक पानी निकासका लागि सुरुङ निर्माणको सम्भावनाबारे अध्ययन गर्न काठमाडौं महानगरपालिकालाई सुझाव दिए। 

‘अहिले विभिन्न ठाउँमा लामो सुरुङहरू निर्माण भइरहेका छन्। त्यस्तै कुनै वैकल्पिक निकासको व्यवस्था गर्न सकिन्छ कि भन्ने विषयमा पनि ध्यान दिन आवश्यक छ। चोभारमा मात्रै निर्भर हुँदा भविष्यमा समस्या आउन सक्छ,’ उनले भने। 

श्रेष्ठले जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिको असर नेपालमा समेत देखिन थालेको बताए। उनले सोलुखुम्बुको थामेमा आएको बाढीको उदाहरण दिँदै हिमताल फुट्ने जोखिमसमेत रहेकाले विपद् आउनुअघि नै पूर्वतयारी गर्नुपर्नेमा जोड दिए। 

‘विकास आवश्यक छ, तर त्यो व्यवस्थित र वातावरणमैत्री हुनुपर्छ। अत्यधिक औद्योगिकीकरण र वातावरण विनाशको असर अन्ततः नेपालजस्ता देशले पनि भोग्नुपरेको छ,’ उनले भने। 

श्रेष्ठले सम्भावित विपद्बाट जनधनको क्षति कम गर्न पूर्वतयारी र वैकल्पिक संरचनाको विकासमा अहिले नै ध्यान दिनुपर्ने बताए।  

प्रकाशित: २८ भाद्र २०८३ १२:३८ आइतबार