भदौ १० गते बिहान ८ः१० बजे रसुवा पुगेका इटहरी -२० का ६५ वर्षीय अमरकाजी खड्काले कान्छा छोरा सुभाषलाई फोन गरे। मनसरोवर घुम्ने लामो योजनापछि पुगेका अमरकाजी र उनकी ६४ वर्षीय श्रीमती मनकुमारीले छोरासँगको कुराकानीपछि फोन सम्पर्क विच्छेद भयो। त्यही फोन नै परिवारसँगको अन्तिम संवाद बन्यो।
‘बुबाले बिहान ८ः१० बजे फोन गर्नुभएको थियो। केहीबेर कुराकानी भयो। बुबाले अब हाम्रो मोबाइल टिप्दैन भन्नुभयो। त्यसपछि सम्पर्क हुन सकेको छैन’, घरमा आउने आफन्त र शुभेच्छुकले पटक–पटक सोध्ने प्रश्नको जवाफ दिँदै सुभाषले भने।
भदौ १० गते रसुवाको टिमुरे नाकाबाट भोटेकोसी हुँदै आएको भीषण बाढीपछि खड्का दम्पती सम्पर्कविहीन छन्। बाढी आएको चार दिन बितिसक्दा पनि उनीहरूको अवस्था अज्ञात छ।
घटना भएको दिनदेखि खड्का परिवारका घरमा आफन्त र शुभेच्छुकको बाक्लो जमघट लाग्ने गर्छ। सबैको एउटै प्रश्न हुन्छ- खड्का दम्पतीको अवस्था के छ ?’ तर परिवारसँग दिने कुनै जवाफ छैन। परिवारको एउटै आशा छ, ‘कतै बाढीबाट जोगिएर अमरकाजी र मनकुमारी सम्पर्कमा आउनुहुनेछ कि !’
खड्का दम्पतीको खोजीका लागि आफन्तले छुट्टाछुट्टै टोली बनाएर चितवन र रसुवा पठाएका छन्। यद्यपि अहिलेसम्म केही पत्ता लाग्न नसकेको अमरकाजीका कान्छा भाइ श्यामले बताए।
चितवन पुगेको टोलीले शनिबार दिनभर विभिन्न स्थानमा फेला परेका शव पहिचान गर्ने प्रयास गरे पनि खड्का दम्पतीबारे कुनै जानकारी पाउन सकेन। रसुवा पुगेको टोली भने बाढीका कारण पारि जान नसकेर वारिबाटै फर्किएको श्यामले बताए।
उनका अनुसार खड्का दम्पतीले साउन २९ गते मानसरोवर जाने योजना बनाएका थिए। त्यही समयमा आफन्तको निधन भएपछि यात्रा भदौ ४ वा ५ गतेका लागि सारिएको थियो तर उनीहरू भदौ ७ गते आइतबार घरबाट हिँडेका थिए। त्यसपछि काठमाडौं पुगेका उनीहरू त्यहाँबाट रसुवातर्फ गएका थिए।
अमरकाजीका साहिँला भाइ दीपबहादुर र उनकी श्रीमती पनि उनीहरूसँगै जाने तयारीमा थिए तर दीपबहादुर बिरामी भएपछि उनीहरू जान सकेनन्। दीपबहादुरले दाजु अमरकाजीलाई पनि अर्कोपटक जान आग्रह गरेका थिए तर अमरकाजीले योजना परिवर्तन गर्न नमानेपछि उनीहरू दुईजना यात्रामा निस्किएका थिए।
बाढी आउनु केही समयअघि अमरकाजीले कान्छा छोरा सुभाष र ८९ वर्षीय बाबुलाई फोन गर्दै ‘अब हाम्रो मोबाइल टिप्दैन’ भनेको परिवारजनले बताएका छन्। त्यसको केही समयपछि परिवारले रसुवामा अकल्पनीय बाढी आएको खबर सुनेको थियो। त्यसयता दम्पतीसँग सम्पर्क हुन सकेको छैन।
मानसरोवर चीनको तिब्बतमा पर्ने पवित्र हिमाली ताल हो। यो कैलाश पर्वतनजिकै रहेको छ। मानसरोवर हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीका लागि महत्त्वपूर्ण तीर्थस्थल मानिन्छ। ताल करिब चार हजार ५ सय ८० मिटरको उचाइमा छ।
यसैबिच मोरङको बेलबारी नगरपालिका– २ की मनकुमारी गुरुङ पनि भदौ १० देखि सम्पर्कविहीन भएपछि आफन्तले उनको खोजी तीव्र पारेका छन्।
इटहरी -२० का वडा सदस्य तनुज गुरुङका अनुसार चीनबाट सामान ल्याएर रसुवामा बिक्रीवितरण गर्ने गुरुङ सोही दिन चीनतर्फ गएकी थिइन्। ‘उहाँ (मनकुमारी) व्यापारको सिलसिलामा चीन जाने–आउने गर्नुहुन्थ्यो। सोही दिन पनि चीन गएको जानकारी छ’, वडा सदस्य गुरुङले भने।
बाढीपछि रसुवाको भोटेकोसी तथा आसपासका क्षेत्रमा अकल्पनीय जनधनको क्षति भएको छ; जसमा चीनको मनसरोवर घुम्न गएका सुनसरीका १६ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनायो। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार १३ जना रसुवाका विभिन्न स्थानमा काम गर्ने सरकारी कर्मचारीसहित अन्य व्यक्ति छन्।
प्रकाशित: १५ भाद्र २०८३ १२:५३ सोमबार



