खाना पकाउने एलपी ग्यासको अभाव हटाउन तथा उपभोक्ता अधिकारलाई सुरक्षित गर्ने उद्देश्यका साथ सुर्खेतमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा आइतबार वीरेन्द्रनगरमा आयोजित सर्वपक्षीय बैठकमा ग्यास अभाव, आपूर्तिमा असहजता र त्यसबाट जनजीवनमा परेको प्रभावबारे सरोकारवालाबीच छलफल भएको हो।
छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले ग्यास अभावले नागरिकको दैनिकी कष्टकर बन्दै गएकाले तत्काल समस्या समाधान गुर्नपर्ने बताए।
बैठकमा सरोकारवालाहरूको ध्यानाकर्षण गर्दै उनले भने, ‘सुर्खेतमा कति ग्यास सिलिन्डर चाहिन्छ ? अभाव सृजना कसरी भयो ? यसको माग र आपूर्तिको सन्तुलन मिल्नेगरी नेपाल आयल निगमले व्यवस्थापन गर्नुपर्दछ र अधिकृत विक्रेताले पारदर्शी रूपमा वितरण गर्नुपर्छ।’ वितरणमा देखिएका सुरक्षा चुनौतीलाई व्यवस्थापन गर्न प्रशासन निरन्तर लागिरहेको बताउँदै अभाव हुन नदिन आयल निगमलाई आग्रह गरे।
निगमका प्रवक्ता मनोज ठाकुरले देशैभरि ग्यास आपूर्तिका लागि भारतीय आयल निगमसँग पहल भइरहेको जानकारी दिए। यो महिनाका लागि ५५ हजार मेट्रिक टन ग्यास सिलिन्डर माग गरिएको उनको भनाइ थियो। तर बजारमा ह्वात्तै माग बढेकाले एकैपटक आपूर्ति गर्न कठिनाइ भएको प्रवक्ता ठाकुरको भनाइ थियो।
नेकपा एमाले सुर्खेत जिल्ला कमिटी अध्यक्ष कुलमणि देवकोटाले ३८ हजार घरपरिवारसहित निजामती कर्मचारी, सुरक्षा निकाय, विश्वविद्यालय, विद्यालयमा अध्ययनरत विद्यार्थी, विभिन्न उद्योग व्यवसायमा संलग्न नागरिक सुर्खेतमा रहेको बताए। उनले ग्यासको तथ्यांक एकिन गरी मागअनुसार निगमले आपूर्तिको व्यवस्था मिलाउनुपर्ने सुझाव दिए।
वीरेन्द्रनगर नगरपालिका-६ सुर्खेतस्थित नन्दनी ट्रेडर्सका प्रमुख मनोज दाहालले भेरी ग्यासमात्र ७० देखि ८० हजारको आवश्यक भएको सुनाए। मागअनुसारको ग्यास उपलब्ध हुन नसक्दा नागरिकले हरेक दिन राति सडकमा लाइन लागेर बस्नुपर्ने बाध्यता आइलागेको उनको भनाइ थियो। छलफलमा राजनीतिक दल, प्रहरी प्रशासन, व्यापार, व्यवसायी, उद्योगी, कर्मचारी, अभियान्ता र सञ्चारकर्मीको उपस्थिति थियो। रासस
प्रकाशित: २५ श्रावण २०८३ ०६:५७ सोमबार