समाज

सरकारी वकिल कार्यालयका सबै प्रमाण नष्ट !

जेन-जी आन्दोलनमा क्रममा जिल्ला सरकारी वकिल कार्यालयमा भएका हजारौ फाइल नष्ट भएपछि सेवाग्राही मर्कामा परेका छन् । कतिपय सरकारी वकिलमार्फत नै सफाइ पाइसकेको भएपनि प्रहरी कार्यालयबाट सफाइ लिनुपर्नेमा प्रमाण अभाव हुँदा मर्कामा परेका हुन् ।

आगजनी भएसँगै सरकारी वकिल कार्यालयबाट हुने कामहरु सबै ठप्प भएका छन् । जिल्ला सरकारी वकिल कार्यालयमा हुने बकपत्र, पेशी र आदेशका सबै काम रोकिएको छ ।  

पहिलो तल्लामा तीनवटा फाँट रहेको उनको भनाइ छ । पहिलो मुद्दा शाखा, जहाँ चालु मुद्दाहरु हुने र कार्य सम्पादन हुने गरेको उनले बताए । त्यसैगरी पहिलो तल्लामा अर्को अभियोग शाखा छ । त्यहाँ प्रहरी कार्यालयबाट अनुसन्धान सम्पन्न भएर आएका फाइलहरु मुद्दा शाखामा नजादाँसम्म त्यही रहने गरेका थिए ।

‘विशेषका मुद्दाहरु अभियोग शाखामा आउने र त्यहाबाट सरकारी वकिल कार्यालयमा जाने र सरकारी वकिलले अभियोजन गर्नुपर्ने वा नपर्ने भनि निर्णय गर्ने र निर्णय अनुसार मुद्दा नचल्ने हुदाँ माथि जाने तथा अभियोजन चल्दा अदालत पठाउनुका साथै अदालतबाट उठेका कागजात राखेर मुद्दा शाखामा बुझाउने गरिएको थियो’,  सहमहान्याधिवक्ता काफ्लेले बताए ।  

उनका अनुसार तीन हजारभन्दा बढी मुद्दाहरु मुद्दा शाखामा थिए । अभिलेख शाखामा सक्कल र विशेषका मुद्दाहरु सामान्य मात्रामा रहेको र पुनरावेदन शाखामा ६००भन्दा बढी मुद्दा थिए ।

‘वर्षौदेखि काम गर्दै आएका अभिलेख नष्ट हुदाँ समस्या भयो । कुनै व्यक्तिलाई उजुरी दर्ता हुदाँ प्रहरीको रेकर्डमा अपराध लागेको भनेर आउने प्रणाली छ,’ उनले भने, ‘मुद्दाको अन्त्य भएपछि व्यक्तिले सफाई पाएको जवाफ वार्षीक रुपमा लिएर गएपछि मात्रै उसको अपराधको दाग हट्ने प्रणाली भएको तर पछिल्लो घटनाक्रमपछि कुनैपनि व्यक्तिले मुद्दामा सफाइ पाएको भएपनि रेकर्ड दिन नसक्ने अवस्था सिर्जना भयो ।  पुलिस रिर्पोटमा मुद्दाको रिर्पोटसमेत यथावत छ । यसबाट अदालत वा प्रहरीले न्याय सम्पादन गर्न कठिन हुन्छ।’

प्रकाशित: ८ आश्विन २०८२ १७:२६ बुधबार