समाज

जुम्लामा सुत्केरी किशोरीको हवाई उद्धार

जुम्लाको तिला गाउँपालिका–३ की १८ वर्षीया अस्मिता नेपालीलाई सुत्केरीपछिको स्वास्थ्य जटिलता बढेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ।

सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सुत्केरी भएकी उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि बिहीबार ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत हवाई उद्धार गरिएको हो।

स्वास्थ्यकर्मीका अनुसार अस्मिताले जन्माएको नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य छ। तर, सुत्केरीपछिको जटिलताका कारण आमाको मिर्गौला र फोक्सोमा गम्भीर समस्या देखिएपछि प्रतिष्ठानको सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको थियो।

कर्णाली स्वास्थ्य प्रतिष्ठानका निर्देशक डा. कमल थानीले बिरामीको अवस्था जटिल बन्दै गएको र त्यहाँ उपलब्ध उपचार सुविधाले मात्रै पर्याप्त नहुने निष्कर्ष निकालेपछि तत्काल सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको जानकारी दिए।

‘स्वास्थ्य अवस्था जटिल भएपछि यहाँको उपचारले मात्र पुग्ने अवस्था नरहेकाले थप उपचारका लागि रेफर गरिएको हो।’ उनले सुनाए।

जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले चिकित्सकको सिफारिसपछि नेपाली सेनाको हेलिकप्टर झिकाएर अस्मितालाई कर्णाली प्रदेश अस्पताल (सुर्खेत) पठाइएको बताए।

यसैगरी, तिला गाउँपालिका–२ की अनुस्का रोकायलाई पनि सोही हेलिकप्टरमार्फत उद्धार गरिएको छ। लडेर टाउकोमा गम्भीर चोट लागेकी उनलाई थप उपचारका लागि नेपाली सेनाको ‘एन–ए ०५५’ कलसाइनको हेलिकप्टरबाट अस्पताल लगिएको हो।

कर्णालीका दुर्गम गाउँमा सुत्केरीपछिका जटिल स्वास्थ्य समस्या देखिँदा समयमै उपचार सुविधा उपलब्ध नहुँदा ज्यानको जोखिम बढ्ने गरेको छ।

यस्तो अवस्थामा ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत गरिने हवाई उद्धारले दुर्गम क्षेत्रका महिलाको जीवनरक्षा गर्न महत्त्वपूर्ण अवसर दिइरहेको स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित: २८ फाल्गुन २०८२ १५:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App