समाज

नेपालमा वायु प्रदूषण बढ्दै : भारतमा पराल जलाउँदा निस्कने धुवाँ नेपाल भित्रिने खतरा

मौसमविद् विनोद पोखरेलले नेपालमा तुवाँलो र धुवाँको प्रभाव देखिन थालेको भन्दै वायु प्रदूषण बढ्न सक्नेप्रति सचेत गराएका छन्।

उनले तराईमा प्रदूषण बढेको देखिएको र काठमाडौंमा पनि हावा तीव्र गतिमा दूषित हुँदै गएको बताएका छन्। आगामी दिनमा वायु प्रदूषण अझ बढ्न सक्ने भएकाले स्थानीय प्रदूषणका स्रोत घटाउनुपर्नेमा उनले जोड दिएका छन्।

पोखरेलका अनुसार फोहोर जलाउने र अत्यधिक धुवाँ फाल्ने सवारीसाधनले वायु प्रदूषणको अवस्था थप बिगार्न सक्छन्। त्यसैले स्थानीय स्तरमा प्रदूषण नियन्त्रणका उपाय अपनाउनुपर्ने उनको सुझाव छ।

'तुवाँलो र धुवाँले नेपाललाई पनि छुन थालेजस्तो छ। तराईमा प्रदूषण बढेको देखिन्छ भने काठमाडौंमा पनि हावा कति छिटो दूषित हुँदै गएको छ,' सामाजिक सञ्जालमा पोखरेलले भनेका छन्, 'आगामी दिनमा वायु प्रदूषण अझ बढ्न सक्ने भएकाले स्थानीय प्रदूषणका स्रोत घटाउन ध्यान दिनुपर्ने बेला आएको छ। फोहोर जलाउने र अत्यधिक धुवाँ फाल्ने सवारीसाधनले अवस्था थप बिगार्न सक्छन्।'

त्यस्तै, हावाको बहाव अनुकूल भए भारतमा पराल जलाउँदा निस्कने धुवाँ पनि नेपाल भित्रिन सक्ने उनले बताएका छन्।

वायु प्रदूषण नियन्त्रणका लागि फोहोर नजलाउने, सवारीसाधनको नियमित मर्मत गर्ने र आफ्नो क्षेत्रको वायु गुणस्तरबारे जानकारी राख्ने बानी आवश्यक रहेको पोखरेलको भनाइ छ।

'हावाको बहाव अनुकूल भए भारतमा पराल जलाउँदा निस्कने धुवाँ पनि नेपाल भित्रिन सक्छ। फोहोर नजलाऔँ, सवारीसाधनको नियमित मर्मत गरौँ र आफ्नो ठाउँको वायु गुणस्तरबारे जानकारी राखौँ। सफा हावाका लागि हाम्रो प्रयास पनि आवश्यक छ,' उनले भने।

उनले वायु प्रदूषण बढ्न नदिन व्यक्तिगत तथा सामुदायिक तहबाटै सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित: १७ कार्तिक २०८३ ०७:५५ मंगलबार