लमजुङको सुन्दरबजार नगरपालिका-८ मा विगत ६ वर्षदेखि सञ्चालनमा रहेको प्रोग्रेसिभ एकीकृत कृषि तथा पशु फर्म पूर्वाधार अभावमा संकटमा परेको छ।
फर्मका सञ्चालक रोचक न्यौपानेले उत्पादन र रोजगारी दिइरहेको आफ्नो व्यवसाय केवल चार सय मिटर सडकको दुरावस्थाका कारण बन्द हुने जोखिममा पुगेको बताएका छन्।
नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने उद्देश्यले खोलिएको यस फर्मले स्थानीय स्तरमा राम्रो उत्पादन गरिरहेको थियो। सञ्चालक न्यौपानेका अनुसार फर्मबाट दैनिक करिब ८० लिटर दुध र विभिन्न मौसमी तथा बेमौसमी तरकारी उत्पादन भइरहेको छ।
उत्पादित वस्तु नजिकैको बजारमा बिक्री वितरण हुँदा स्थानीयले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी समेत पाएका छन्। तर, गत चैत ९ गते आएको भारी वर्षाले सडक क्षतविक्षत बनाएपछि उनी मर्कामा परेका हुन्।
सडक सम्पर्क टुटेपछि फर्मसम्म कुनै पनि सवारीसाधन पुग्न नसक्ने अवस्था छ। आफ्नै निजी लगानीमा ट्रयाक खने पनि त्यसलाई दिगो र सुरक्षित बनाउन सरकारी निकायबाट कुनै सहयोग नपाएको न्यौपानेको गुनासो छ।
बाटो नहुँदा समयमै दुध र तरकारी बजार पुर्याउन नसकिएको, ढुवानी खर्च बढेको र ग्राहकको विश्वास गुम्न थालेको उनले बताए। साथै, पशु बिरामी पर्दा समयमै उपचार गराउन र दाना-भुसा सकिँदा नयाँ ल्याउन नसकिने जटिल अवस्था सिर्जना भएको छ।
सडक अभावकै कारण सहयोगी निकायले दिएको महत्त्वपूर्ण उपकरण समेत प्रयोगविहीन बनेको छ। ‘च्वाइस नेपाल’ नामक संस्थाले दुध भण्डारणका लागि चिस्यान मेसिन प्रदान गरे पनि बाटो नहुँदा दुई वर्षदेखि त्यसलाई फर्मसम्म लैजान नसकिएको न्यौपानेले बताए।
सडक मर्मत वा निर्माणका लागि सिमेन्ट, ब्लकलगायतका सामग्री ढुवानी गर्न झनै असम्भव भएको छ।
यस विषयमा वडाअध्यक्ष र मेयरलाई पटकपटक जानकारी गराउँदा पनि स्थानीय सरकारबाट कुनै सुनुवाइ नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। नेपालमै बसेर भविष्य खोज्ने युवाहरूलाई राज्यले न्यूनतम पूर्वाधार समेत नदिएको उनको गुनासो छ।
स्थानीय सरकार र जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउँदै उनले भने, ‘हामी काम गर्न तयार छौं, उत्पादन गर्न र रोजगारी सिर्जना गर्न सक्षम छौं। तर, हामीलाई दान होइन, अवसर चाहिएको छ। हामीलाई केवल चारसय मिटर सडक चाहिएको छ।’
स्वदेशमै केही गर्न चाहने युवाको प्रयासलाई बुझिदिन र साथ दिन उनले सम्पूर्ण सरोकारवालालाई अपिल गरेका छन्।
प्रकाशित: १९ चैत्र २०८२ २१:११ बिहीबार