धरान उपमहानगरपालिकाका नगर प्रमुख र उपप्रमुखबिच उग्र विवाद रहेको वडा नं. १६ मा श्रमदानबाट बनेको बहुभाषिक पाठशाला जोगाउन ग्याबिन पर्खाल निर्माणको रकम भुक्तानी दिने सहमति बनेको छ ।
नगरप्रमुख साम्पाङ्, वडाध्यक्ष र कार्यपालिका सदस्यले स्थलगत रुपमा अनुगमन गरेपछि श्रमदानबाट काम भएकाले गर्दा उपभोक्ता समितिलाई भुक्तानी दिए फरक नपर्ने भनी सर्जमिन मुचुल्का गरेपछि सहमति भएको हो । सहमतिसँगै जाली खरिद गरिएको रकम सात लाख १० हजार रुपैयाँ भुक्तानी गरिएको छ ।
जाली लगाएको रकम निकासा गर्नुपर्ने पक्षमा नगर प्रमुख साम्पाङ् र रकम निकासा गर्न नसकिने उपप्रमुख आइन्द्राविक्रम बेघाको अडानले दुवै जनाबिच असार पहिलो सातादेखि नै विवादले उग्र रूप लिएर वातावरण असहज बन्दै आएको थियो । मंगलबार नै राजनीतिक दलले सहमति गरेपछि माओवादीबाट विजयी भएका उपप्रमुख वेघा र वडा नं. १७ का वडाध्यक्ष सूर्य भट्टराईबाहेक अन्य वडाध्यक्ष र कार्यपालिका सदस्य जालीको भुक्तानी दिन सहमत भएका थिए ।
जालीको रकम नदिएसम्म कुनै पनि रकम भुक्तानी नहुने अडानमा रहेका नगर प्रमुख साम्पाङ्सँग अरु सहमत भएसँगै सबै योजनाको भुक्तानी बुधबार भइरहेको छ । ‘चालु आर्थिक वर्षको भुक्तानी गर्ने अन्तिम दिन भएकाले गर्दा युद्दस्तरमा भुक्तानी भइरहेको छ,’ वडा नं. १८ का वडाध्यक्ष प्रवणी (नरेन्द्र) राईले बताए ।
केही दिनअघि उपप्रमुखसहित २९ जना कार्यपालिका सदस्यले चालु आर्थिक वर्षमा सम्पन्न भएका योजनाको भुक्तानी दिन माग गरेका थिए । बहुभाषिक पाठशालामा जाली लगाएको भुक्तानी नगर्दा प्रमुख साम्पाङ्ले चालु आर्थिक वर्ष २०८१/८२ मा सकिएका योजनाको भुक्तानीका लागि लेखा शाखामा पुगेको झण्डै ४० वटा फायल आफ्नो कब्जामा लिएका थिए । तर, मंगलबार राजनीतिक दलले भुक्तानीका लागि अग्रसरता लिएर आफ्नो पक्षबाट विजयी वडाध्यक्षलाई सहजीकरण गरेसँग सहज वातावरण बनेको हो ।
उपप्रमुख बेघाले भने ग्याबिन पर्खाल निर्माणमा संलग्न ‘श्रमदाताहरूको नाममा नगर प्रमुख साम्पाङले आफैले फायल खडा गर्दै आएको गैह्र कानुनी कार्यमा सहमति नभएको जनाएका छन् ।
प्रकाशित: २५ असार २०८२ १८:३९ बुधबार



