समाज

मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

रारा विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा डुबेर मृत्यु भएका बालकका परिवार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सहमति भएको छ।

गत साउत ३० गते विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर छायाँनाथ रारा नगरपालिका-४ ताल्चाका ११ वर्षीय गौरव भामको मृत्यु भएको थियो। ठेकेदारले खनेको खाल्डोमा वर्षाको पानी जमेको र सुरक्षाका लागि घेराबार नगरी खुला छाडिएको अवस्थामा बालकको डुबेर मृत्यु भएको परिवारको भनाइ छ। घटनापछि पीडित परिवारले उचित राहत तथा विमानस्थलको सुरक्षा व्यवस्थामा ध्यान दिन माग गर्दै विरोध गर्दै आएका थिए।

सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरण प्रतिनिधि र पीडित परिवारबीच नेपाल नागरिक उड्डयन कार्यालय नेपालगन्ज परिसरमा सहमति भएको हो। सहमतिअनुसार मृतक बालक गौरवका बुवा जयबहादुर भामलाई योग्यता र क्षमताअनुसार उपयुक्त करार सेवाको रोजगारीका लागि नागरिक उड्डयन कार्यालय रारा विमानस्थलमार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणमा सिफारिस गरिनेछ।

त्यस्तै, मृतकका परिवारलाई राहतस्वरूप टर्मिनल भवन निर्माणकर्ता बुढी इन्टरनेसनल कन्स्ट्रक्सन प्रालिले तत्काल रु १० लाख उपलब्ध गराउने र मृतकका परिवारले जिल्ला प्रहरी कार्यालय मुगुमा दिएको जाहेरी तथा उजुरी फिर्ता लिने सहमति भएको छ।

सहमति कार्यान्वयनका लागि सहजीकरण गरिने छायाँनाथ रारा नगरपालिका-८ का वडाध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए। ठेकेदार पक्षको लापरबाही, मृतक परिवारलाई राहत तथा यात्रु टर्मिनल भवन निर्माणमा भएको ढिलाइबारे मुगुबाट निर्वाचित सङ्घीय सांसद खड्गबहादुर शाहीले सोमबारको संसद् बैठकमा ध्यानाकर्षण गराएका थिए। रासस

प्रकाशित: २ भाद्र २०८३ १०:५१ मंगलबार