नेपालको आस्थाको केन्द्र रहेको सुदूर पश्चिम क्षेत्रमा पर्ने बडी मालिका मन्दिर नेपाली सेनाले पुनर्निर्माण गरेको छ ।
मल्लागिरी पर्वत अन्तर्गत समुद्री सतहबाट करिब ४ हजार २सय २० मिटर उचाइमा अवस्थित बाजुराको ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक महत्वको बडी मालिका मन्दिरको संरक्षण, संवर्द्धन तथा प्रवर्धन गर्ने उद्देश्य नेपाली सेनाद्वारा पुनर्निर्माण गरिएको हो ।
२०८१ चैत्र २८ गतेबाट सुरु गरिएको पुनर्निर्माण कार्य २०८२ आषाढ २३ गते सम्पन्न भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । पुनर्निर्माणको समयमा समेत श्रद्धालु भक्तजनहरूको लागि मन्दिर निरन्तर खुल्ला रहेको थियो ।
प्राचीन स्मारक संरक्षण ऐन, २०१३ ९पाँचौँ संशोधन सहित० को परिधिभित्र रही पुरातत्त्व विभागको स्वीकृत ड्रइङ डिजाइन तथा प्राविधिक सहयोग एवम् बाजुरा स्थित त्रिवेणी नगरपालिकाको समन्वयमा परम्परागत निर्माण सामग्रीहरूको प्रयोग गरी पुरानो मौलिक स्वरूप अनुसार पुनर्निर्माण कार्य सम्पन्न गरिएको छ ।
रक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, त्रिवेणी नगरपालिका, बडी मालिका नगरपालिका, मन्दिरका पुजारी नेत्र प्रसाद उपाध्याय, भक्तपुर तथा ललितपुरका दक्ष कालिगडहरू र स्थानीयहरूको निरन्तर प्रयासमा विकट भौगोलिक अवस्था, प्रतिकुल मौसम र निर्माण सामग्री व्यवस्थापनका चुनौती माझ करिब २ महिनामा पुनर्निर्माण कार्य सम्पन्न भएको हो ।
प्रकाशित: २६ असार २०८२ १२:२३ बिहीबार