समाज

राजुली नगर अस्पतालमा पहिलो पटक ‘वासिङ मेसिन’ राखिएपछि...

राजुली नगर अस्पतालमा कार्यरत ‘नर्सिङ इन्चार्ज’ अञ्जना धामीको अनुहार चमकदार देखिन्थ्यो। नर्सिङ स्टाफ सधैँ चिटिक्क, चमकदार र हँसमुख नै हुन्छन् हैन ? प्रश्न गर्दै गर्दा उनले भनिन्, ‘यसमा सत्यता होला। तर यत्तिमा मात्र होइन। हाम्रो लागि खुसीको विशेष क्षण छ। मभन्दा बढी अस्पतालमा सेवारत कर्मचारी (स्वीपर), सेवा लिने गर्भवती आमा। तिनका आफन्त।’ 

किन, कसरी ? होचो कद तर अब्बल क्षमताकी नर्सिङ इन्चार्ज धामी गम्भीर देखिन्। उनले भनिन्, ‘अब मैले, मेरा स्टाफ र कहिलेकाहीँ सुत्केरीका आफन्तले बर्थिङका क्रममा कपडा धुन नपर्ला। धेरै सहज हुन्छ। वर्षा र जाडो दुवै मौसममा सक्नुपर्ने कपडा नसुक्ने अवस्था छ।’

तिलागुफा नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्यायको विशेष आग्रह र पहलमा नेपाल रेडक्रस सोसाइटी कालीकोट शाखाले अस्पतालमा ‘वासिङ मेसिन’सहित अन्य सामग्री उपलब्ध गराएपछि अस्पताल स्रोत साधनमा अझ दरिलो भएको हो। 

अस्पतालमा पहिलो पटक ल्याइएको ‘वासिङ मेसिन’ को प्रयोग पश्चात् विशेष गरेर चिसो मौसममा चिसो पानीमा ‘बर्थिङ’का कपडा हातले नै धुनुपर्ने समस्या सदाका लागि अन्त्य हुने जनाइएको छ। लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ सञ्चालित एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रमले अस्पतालका लागि १२ केजी क्षमताको सुक्खा ‘वासिङ मेसिन’सहित ‘इलेक्ट्रिक हिटर’, बिरामी कुरुवाका लागि प्रतिक्षा कुर्सी, पानी प्रशोधन उपकरण पनि अस्पताललाई सहयोग गरेको छ। 

तिलागुफा नगर प्रमुख उपाध्यायले भने, ‘चिसो समयमा चिसो पानीमा बर्थिङ सेन्टरका कपडा एवं गर्भवतीका कपडा हातले नै धुनुपर्ने अवस्था थियो। यस्तो पीडादायी अवस्थामा रेडक्रसले ‘वासिङ मेसिन’लगायत अन्य सामग्री सहयोग गरेकामा म विशेष धन्यवाद दिन चाहन्छु।’

अविवाहित ‘नर्सिङ इन्चार्ज’ धामीले भनिन्, ‘झट्ट हेर्दा ‘वासिङ मेसिन’ सानो सहयोग हो यो तर अस्पतालमा यसले ठूलो महत्व राख्छ। एकातिर समयको बचत अर्कोतर्फ सेवाको प्रभावकारी वृद्धि गर्छ। मैले नै कति पटक त बर्थिङमा प्रयोग गर्ने कपडा, गर्भवती तथा सुत्केरीका कपडा धुनु परेको छ। चिसोले हात कटक्क हुँदाहुँदै कपडा धोइयो तर सुक्दैन। घाम कम लाग्छ। अलि अलि सुक्यो ढुसी पर्छ। ढुसी परेका कपडा प्रयोग गर्न मिल्दैन। ढुसी परेका कपडाले गर्दा रोगको संक्रमण हुने जोखिम त्यत्तिकै हुन्छ। हैरानीमा थियौं। ‘वासिङ मेसिन’ भएपछि अव ती दिन सम्झना मात्र रहलान्।’

यहाँ असोजको अन्त्यदेखि नै अत्यधिक चिसो सुरु हुन्छ। यो हिउँ पर्ने क्षेत्र पनि हो। चिसो चैतसम्म जारी रहन्छ। कर्णाली राजमार्ग नजिकै रहेको राजुली नगर अस्पतालद्वारा सञ्चालित बर्थिङ सेन्टरमा गत कात्तिक र मंसिर महिनामा एकजनाले पनि सुत्केरी सेवा लिएनन्। चिसोका समयमा सुत्केरीलाई झन् पीडा हुन्छ। अभिभावक र स्वास्थ्यकर्मीसमेत समस्या पर्ने जनाइएको छ।  
  
तिलागुफा नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालको क्षमता दश शय्याको छ। सुत्केरी हुनका लागि यहाँ विशेष गरेर राजुली–२ रतडा, राजुली–३ फोइमहादेव र राजुली–४ राजुलीबाट सेवाग्राही आउने गर्दछन्। नर्सिङ इन्चार्ज धामीका अनुसार गत आवमा अस्पतालमा ५४ जना सुत्केरी भएका थिए भने चालु आवको तीन महिनामा १४ सुत्केरी भएका थिए। यहाँ ‘बर्थिङ सेन्टर’ सञ्चालन हुनुपूर्व कि मान्मा जिल्ला अस्पताल, जुम्ला अस्पताल जानुपर्ने अवस्था थियो। 

अस्पतालमा गर्भवती आमा तथा नवजात शिशुको सुत्केरीका क्रममा अकालमा मृत्यु भएको छैन। गत आवमा तीन जना गर्भवतीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘रिफर’ गरिएको छ। प्रतिष्ठानले एकजना ‘एमबिविएस’ चिकित्सक उपलब्ध गराएपनि चिकित्सकको अस्पतालमा उपस्थिति कमै हुने जनाइएको छ। 

स्वास्थ्यका जोखिम 
कर्णाली राजमार्गसँगै जोडिएका यो नगरपालिकामा ११ वडा छन्। ती वडा यति दुर्गम छन् कि सबै वडाका बस्तीमा पुग्न पैदल ४२ दिन लाग्छ। वडा नं ९, १० र ११ तिला नदी पारी छन्। २०७९ साल असोजको बाढीले तिला नदीको पक्की पुल बगाउँदा ती वडामा यातायात सेवा स्थायी रुपमा सुचारु गर्न अहिले पनि नगरपालिकालाई हम्मेहम्मे परिरहेको छ।  

नगरपालिकाका सबै वडा विभिन्न किसिमका विपद् र स्वास्थ्यको दृष्टिकोणले जोखिम मानिन्छ। ती जोखिमलाई घटाई समुदायलाई उत्थानशील बनाउन नेपाल रेडक्रसले नगरपालिकासँग सहकार्य गरेर खानेपानी र सरसफाइ, स–साना सिँचाइ, स्वास्थ्य, जीविकोपार्जन, शिक्षाका गतिविधि सञ्चालन गरिरहेको एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रमका जिल्ला संयोजक रवी लामिछानेले जानकारी दिए। उनले भने, ‘स–साना गतिविधि र सहयोगले समुदायमा ठूलो खुसी ल्याएको छ। कार्यक्रमको अत्यन्त सकारात्मक प्रभाव परेको छ।’ 

हालसम्म गाल्जे खानेपानी आयोजना, दलित टोल बदमवाडा खानेपानी आयोजना, देवार्तोली खानेपानी आयोजना, देउरुख खानेपानी आयोजना सम्पन्न भई समुदायलाई हस्तान्तरणसमेत गरिसकिएका छन्। ती आयोजनाबाट अति विपन्न समुदायका करिब एक हजार परिवार लाभान्वित भएका छन्।  

सो कार्यक्रमले तिलागुफा नगरपालिकाद्वारा सञ्चालित आपत्कालीन कार्य सञ्चालनकेन्द्रका लागि खोज तथा उद्धार र प्राथमिक उपचार सामग्री हस्तान्तरण गरेको थियो। ती सामग्रीमा ‘वासिङ मेसिन’, ‘इलेक्ट्रिक हिटर’, बिरामी कुरुवाका लागि कुर्सी, पानी प्रशोधन उपकरण, ‘स्ट्रेचर’, अग्नि सामक यन्त्र र प्राथमिक उपचार सामग्री रहेका छन्। हस्तान्तरित प्राथमिक उपचार सामग्री नगरका विभिन्न ११ विद्यालयमा उपयोग गरिएको छ। ‘वासिङ मेसिन’, ‘इलेक्ट्रिक हिटर’, बिरामी कुरुवाका लागि कुर्सी, पानी प्रशोधन उपकरण राजुली नगर अस्पतालमा उपयोग गरिएको छ।  

कर्णाली राजमार्गसँगै जोडिएको यो नगरपालिका विपद् जोखिमका दृष्टिकोणले जोखिम क्षेत्र मानिन्छ। नगरप्रमुख उपाध्याय नेपाल रेडक्रस मेरो विपद्को साथी बनेको टिप्पणी गरे। उनले भने, ‘लक्जम्बर्ग रेडक्रसलाई म विशेष अभार व्यक्त गर्न चाहन्छु। उसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ नगरपालिकासँगको साझेदारीमा सञ्चालित एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम केवल परियोजना मात्र रहेन विपद् जोखिम घटाउन आशा बनिरहेको छ। परियोजनाका सहयोगबाट समुदायमा ठूलो परिवर्तन र खुसी ल्याएको छ। समुदायलाई उत्थानशील बनाउने कार्यक्रमको उद्देश्यबाट यहाँका असंख्य विपन्न परिवार लाभान्वित भएका छन्।’ 

खानेपानी र सरसफाइ, स्वच्छता स्वास्थ्य जीविकोपार्जन, संस्थागत क्षमता विकास, शैक्षिक गुणस्तर वृद्धिका क्षेत्रमा कार्यक्रमले नगरपालिकासँगको सहकार्यमा काम गरिराखेको जिल्ला संयोजक लामिछानेले बताए। रासस

प्रकाशित: ७ पुस २०८२ ०९:५६ सोमबार