समाज

शिक्षामन्त्रीको कार्यकक्षमा दुबईका चर्चित भ्लगर खालिद, भने‍- नेपालले यो संकट अवश्य जित्नेछ

नेपालमा आएको भीषण बाढीपहिरोबारे विश्व समुदायको ध्यानाकर्षण गराउन नेपाल आएका दुबईका विश्वप्रसिद्ध कन्टेन्ट क्रिएटर खालिद अल अमेरीले शिक्षामन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रभावित क्षेत्र त्रिशूली पुगेर स्थलगत अवलोकन गरेपछि मंगलबार मन्त्रालय पुगेर मन्त्री पोखरेलसँग भेट गरेका हुन्। भेटपछि सञ्जालमार्फत तस्बिर राख्दै अमेरीले शिक्षामन्त्री पोखरेलबाट नेपाली जनताको अदम्य साहस र पुनर्उत्थानको प्रेरणादायी कथा सुन्न पाएको उल्लेख गरेका छन्।

‘मन्त्रीज्यूले बाढीले निम्त्याएको यस चुनौतीलाई नेपाली जनताले कसरी पार लगाउनेछन् भन्ने विश्वास दिलाउनुभयो,’ उनले भनेका छन्, ‘हामीलाई न्यानो स्वागत गर्नुभएकोमा मन्त्रीज्यूलाई धेरै धन्यवाद।’

चार दिनअघि नेपाल उत्रिएका खालिद सिधै बाढीबाट अतिप्रभावित क्षेत्र त्रिशूली पुगेका थिए। त्यहाँ उनले बाढीले बगाएका पुलहरू र नदी किनारमा बेपत्ता आफन्तको खबर पर्खिरहेका शोकसन्तप्त परिवारहरूसँग प्रत्यक्ष भेटघाट गरेका थिए।

नदीमा ढलेको पुलको भग्नावशेषमाथि उभिएर भिडियो राख्दै उनले लेखेका छन्, ‘म अहिले जुन ठाउँमा उभिएको छु, यहाँ पहिला पुल थियो, तर अहिले नदीको बगरमा ढुंगा र भग्नावशेष मात्र बाँकी छ। बाढीले यहाँका हजारौं नागरिकलाई कस्तो अवस्थामा पुर्‍याएको छ भन्ने प्रमाण यही हो।’ उनको यस भिडियो ५० लाख बढिले हेरेका छन्।

प्रभावित क्षेत्रमा खटिँदा सोमबार राति उनको खुट्टा मर्किएको थियो। अस्पतालमा एक्स-रे गराउँदा खुट्टाको ‘लिगामेन्ट’ च्यातिएको देखिएको थियो। तर, चोटका बाबजुद उनी हतोत्साहित भएका छैनन्।

‘हड्डी भाँच्चिएको छैन, लिगामेन्ट मात्र च्यातिएको रहेछ,’ स्वास्थ्य अवस्थाबारे उनले भने, ‘अब फेरि काममा फर्किने बेला भएको छ।’ सामाजिक सञ्जालमा करोडौं अन्तर्राष्ट्रिय फलोअर्स भएका खालिद दुबईका प्रभावशाली भ्लगर मानिन्छन्।

प्रकाशित: २३ भाद्र २०८३ १७:१९ मंगलबार