समाज

बस चेकजाँच गर्दा झोलामा कटुवा पेस्तोल भेटिएपछि...

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट शुक्रबार बिहान एक थान कटुवा पेस्तोलसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्ला बारा सुवर्ण गाउँपालिका–१ बस्ने वर्ष अन्दाजी १९ का ओम बाबुप्रसाद यादव रहेका छन्। प्रहरीले सवारीसाधन रोकी चेकजाँच गर्ने क्रममा बिहान ३:१० बजेको समयमा पेस्तोलसहित भेटिएका यादवलाई नियन्त्रणमा लिएको हो।

बारा कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग२ख २७५ बसमा यादव सवार रहेको अवस्थामा चेकजाँचका क्रममा भेटिएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको उनले बताए।

पृथ्वीराजमार्ग सडकखण्डमा रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुल जिपबाट खटिने प्रहरी टोलीले सवारी चेकजाँच कार्यलाई तीव्रता दिँदै आएको छ।

प्रकाशित: ५ पुस २०८२ १०:०७ शनिबार