समाज

स्कूलको दिवा खाजामा छेपारो परेपछि!

महोत्तरीको पिपरा गाउँपालिका-६ स्थित आदर्श माध्यमिक विद्यालय रतौलीका दर्जनौं विद्यार्थी अस्पताल भर्ना भएका छन् ।

बिहीबार दिउँसो १ बजे विद्यालयमा दिवा खाजा खुवाउने क्रममा विद्यार्थीलाई दिइएको सुजीको हलुवामा मरेको छेपोरो भेटिएको थियो ।  

मरेको छेपारोको विभिन्न शरीरका अंग अलग अलग विद्यार्थीका खाजामा फेला परेपछि विद्यार्थीले खाजा बनाएर दिने विद्यालयका महिला कर्मचारीलाई बताएपछि उल्टै हप्काएको विद्यार्थीहरुले बताएका छन् ।  

विद्यार्थीले खाजामा छेपारो भेटेको गाउँका व्यक्तिलाई जानकारी गराएपछि विद्यार्थीका अभिभावकसहित गाउँबासी विद्यालय पुगेका थिए । उनीहरुले प्रधानाध्यापक दिनेश दासमाथि आक्रोश पोख्नुका साथै चप्पल प्रहार गरेका थिए ।  

आक्रोसित अभिभावकले विद्यालयका कुर्सी, टेबुल, ढोका तोडफोड पनि गरेका छन् ।  

स्थिति तनावपूर्ण बनेपछि नजिकको प्रहरी चौकीका प्रहरी अधिकारीहरु विद्यालय पुगेर स्थिति नियन्त्रणमा लिइएको थियो ।

यो खाजा खाएका केही विद्यार्थी बिरामी पनि परेका छन् । विद्यार्थी बेहोस हुन थालेपछि अभिभावकले प्रादेशिक अस्पताल जनकपुर लगेका छन् ।  

 

प्रकाशित: १९ भाद्र २०८२ २०:१४ बिहीबार