समाज

२० वर्षपछि भक्तपुरको नागपोखरीमा विशेष रौनक, बीचमै पुगेर नाग दर्शन गर्न पाइने

<br>

भक्तपुर नगरपालिका–१० स्थित ऐतिहासिक नागपोखरी (थालाछेँ पुखु) को मध्यभागमा रहेको स्वर्णरङ्गी नागको प्रत्यक्ष दर्शन तथा स्पर्श गर्न पाउने भएपछि स्थानीय भक्तजनमा उत्साह छाएको छ।

करिब २० वर्षपछि विशेष कार्यक्रमसहित मनाउन लागिएको यस वर्षको नागपञ्चमीका लागि पोखरीको बीचसम्मै पुग्ने गरी ४२ फिट लामो अस्थायी पुल निर्माण गरिएको छ।

आफ्नै घरआँगनमा रहेको सयौं वर्ष पुरानो नागको प्रत्यक्ष दर्शन गर्न पाउने भएपछि थालाछेँकी ८४ वर्षीया कृष्णमाया देउपाला निकै हर्षित छिन्। ‘यो उमेरसम्म नागपोखरीको बीचमा रहेको नागलाई छोएर दर्शन गर्न पाएको थिइनँ,’ देउपालाले भनिन्, ‘भोलि नागपञ्चमीका दिन प्रत्यक्ष दर्शन र स्पर्श गर्ने अवसर जुर्यो, निकै खुसी छु।’

विगतमा पोखरीको बीचसम्म पुग्ने बाटो नहुँदा स्थानीय तथा दर्शनार्थीले टाढैबाट पूजा गर्नुपर्ने बाध्यता थियो। नागपुखु संरक्षण समितिका कोषाध्यक्ष सुजन शिल्पकारका अनुसार पूर्वाधार अभावकै कारण अहिलेसम्म सर्वसाधारणले नागको प्रत्यक्ष दर्शन गर्न पाएका थिएनन्।

यस वर्ष भने भक्तपुर नगरपालिका–१० र स्थानीयवासीको सहकार्यमा उत्तरदेखि दक्षिणतर्फ ४२ फिट लामो अस्थायी काठे पुल निर्माण गरिएको वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले जानकारी दिए। यसबाट देशभरबाट आउने हजारौं भक्तजनले पोखरीको बीचमा पुगेर सहज रूपमा पूजाअर्चना गर्न सक्नेछन्।

वडाध्यक्ष ह्यौमिखाका अनुसार ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको यस स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले यस वर्ष विशेष कार्यक्रम आयोजना गरिएको हो।

टौमढीस्थित पाँचतले मन्दिर निर्माण गर्दा यही पोखरीबाट माटो लगिएको मन्दिरको शिलालेखमा उल्लेख छ। माटो झिकिएपछि बनेको खाल्डोमा तत्कालीन मल्ल राजा भूपतीन्द्र मल्लले नागको स्थापना गराएको जनविश्वास छ।

यस वर्षको नागपञ्चमीलाई भव्य बनाउन बिहान ८ बजेदेखि नै विशेष साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुति राखिएको छ। संरक्षण समितिका अध्यक्ष अनिल देउपालाका अनुसार करिब १०० जना कलाकारले भ्वाइलिन, बाँसुरी र खिँ एकैसाथ बजाएर मङ्गल धुन तथा सिलु धुन प्रस्तुत गर्नेछन्।

यस्तै, बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म भजनकीर्तन र त्यसपछि साङ्गीतिक कार्यक्रम सञ्चालन हुनेछ।

नागपञ्चमीका दिन नागलाई दुबो, दूध, अक्षता, फलफूल, दूधका परिकार तथा कपासबाट बनाइएको नागको आकृति चढाएर पूजा गर्ने परम्परा छ। पोखरीको पूर्वतर्फ फर्केर पूजाअर्चना गर्दा सर्प र नागको भयबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ।

प्रकाशित: ३१ श्रावण २०८३ १६:४६ आइतबार