सम्भावित भारी वर्षा र त्यसबाट निम्तिन सक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको जलसतह र मौसमको अवस्था निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना अद्यावधिक गर्ने भएको छ।
आगामी शुक्रबारदेखि आइतबारसम्म अर्थात् असोज ८, ९ र १० गते देशका अधिकांश भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यको तयारीस्वरूप पूर्वसूचना प्रणालीलाई थप चुस्त बनाइएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी नदीको जलसतह र सम्भावित जोखिमलाई ‘रियल टाइम’मा निगरानी गरिनेछ।
कुन नदीमा बाढी खतराको तह कहिले पुग्न सक्छ र त्यसबाट कस्तो प्रभाव पर्न सक्छ भन्ने प्राविधिक विश्लेषणका आधारमा हरेक घण्टा सूचना अद्यावधिक गरिने उप्रेतीले बताए।
‘पूर्वसूचना प्रणाली हामी घण्टा–घण्टामा अपडेट गर्ने र अवस्था निगरानी गर्ने काम गर्छौँ। कुनै ठाउँमा बाढी खतराको तहमा कहिले पुग्छ र त्यसले के प्रभाव पार्छ भनेर बाढी पूर्वानुमान महाशाखासँग समन्वय भइरहेको छ,’ उनले भने, ‘पानी कति परिरहेको छ भन्ने विवरण हामी रियल टाइममा हेर्छौँ। नागरिकको मोबाइलमा एसएमएस अलर्ट आउने भएकाले त्यसलाई गम्भीरतापूर्वक हेरिदिनुहुन अनुरोध गर्दछु।’
प्राधिकरणले समुद्रमा विकसित हुने ठूलो आँधी (साइक्लोन) प्रणाली र त्यसको दिशामा आउन सक्ने परिवर्तनलाई समेत प्रत्यक्ष निगरानी गरिरहेको जनाएको छ।
मौसम प्रणाली तीव्र रूपमा परिवर्तन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उच्च हिमाली क्षेत्रमा भारी हिमपातको जोखिम रहेकाले ‘रेड अलर्ट’ जारी गरिएको छ। मध्यपहाडी तथा तल्लो तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएको छ।
जोखिमयुक्त हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकलाई तत्काल सुरक्षित स्थानतर्फ ओर्लिन आग्रह गरिएको छ। ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न र सम्भावित उद्धारका लागि हेलिकप्टर उडानको पूर्वतयारीमा रहनसमेत एडभाइजरी जारी गरिएको प्राधिकरणले जनाएको छ।
विपद्को जोखिम बढेमा राजमार्ग तथा मुख्य सडकमा सवारी आवागमनसमेत पूर्ण रूपमा रोक्न सकिने प्राधिकरणले जनाएको छ।
उप्रेतीका अनुसार शुक्रबार र शनिबार अतिआवश्यकबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गर्ने तयारी छ। यातायात व्यवसायीलाई समेत जोखिमको अवस्था हेरेर सेवा सञ्चालन नगर्न अनुरोध गरिनेछ।
पहिरोका कारण सडक अवरुद्ध हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै मुख्य राजमार्गमा तत्काल सडक खुलाउन डोजरलगायतका उपकरण ‘स्ट्यान्डबाई’ राखिएको छ।
भारी वर्षाले कृषि क्षेत्रमा समेत क्षति पुर्याउन सक्ने भएकाले खेतमा पाकेको धानबाली र भण्डारण गरिएको अनाज जोगाउन किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। कृषि मन्त्रालयमार्फत यससम्बन्धी छुट्टै एडभाइजरीसमेत जारी भइसकेको छ।
प्राधिकरणले बाढी तथा डुबानका बेला भिडियो खिच्ने, टिकटक बनाउने वा सामाजिक सञ्जालमा सामग्री राख्ने क्रममा ज्यान जोखिममा नपार्न सर्वसाधारणलाई चेतावनी दिएको छ।
बाढीले बगाएर ल्याएका दाउरा तथा अन्य सामग्री संकलन गर्न खोलामा पस्नेसमेत जोखिमपूर्ण हुने भन्दै त्यस्तो गतिविधि नगर्न उप्रेतीले आग्रह गरे।
यसैबीच, सम्भावित विपद्लाई ध्यानमा राख्दै देशभरका सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ। ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सम्मिलित कमाण्ड पोस्टमार्फत मौसमको अवस्था प्रत्यक्ष निगरानी गर्नुका साथै उद्धार तथा प्रतिकार्यको तयारीलाई तीव्र पारिएको प्राधिकरणले जनाएको छ।
प्रकाशित: ७ आश्विन २०८३ १६:५४ बुधबार