समाज

मनास्लु र लार्केपासमा पदयात्रा नगर्न प्रशासनको आग्रह

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल बगाएपछि मनास्लु पदमार्ग र लार्केपास पदमार्गमा पदयात्रा गर्न रोक लगाइएको छ।

आइतबार जिल्ला प्रशासन कार्यालय गोरखाले एक सूचना जारी गर्दै मनास्लु पदमार्ग तथा लार्केपास पदमार्गमा पदयात्रा नगर्न र नगराउन पर्यटन व्यवसायी तथा पदयात्रीहरूलाई आग्रह गरेको हो।

बाढीले चुमनुब्री गाउँपालिका वडा नं. ४ र वडा नं. २ जोड्ने फलामे पुल र गापदेखि नामरुङ जंगल जाने बुढीगण्डकी नदीको झोलुङ्गे पुल बगाएकाले पदयात्रा क्षेत्रको सम्पर्क विच्छेद भएकोले यस्तो अवस्थामा पदयात्रा नगर्न भनिएको छ।

प्रशासनले जारी गरेको सूचनामा भनिएको छ,‘चुमनुब्री गाउँपालिका–४ नामरुङ स्थित थेराङखोलामा बाढी आई चुमनुब्री गाउँपालिका वडा नं.४ र वडा नं. २ जोड्ने फलामे पुल र ग्यापदेखि नामरुङ जंगल जाने बुढीगण्डकी नदीको झोलुङ्गे पुल समेत बगाएकोले मनास्लु पदमार्ग अथवा लार्केपास पदमार्ग यात्राको तयारी अवस्था वा यात्रामा रहनुभएका पदयात्रीहरुले अर्को सूचना प्रकाशित नहुँदा सम्म पदयात्रा नगर्नु नगराउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

यस्तै, प्रशासनले बूढीगण्डकी नदीका तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित: २१ भाद्र २०८३ १४:३० आइतबार