समाज

मोरङमा चर्को ध्वनिमा धार्मिक कार्यक्रम नगर्न प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय मोरङले धार्मिक तथा सांस्कृतिक कार्यक्रमका नाममा चर्को आवाजमा लाउड स्पिकर, माइक, भोपु तथा साउण्ड बक्स प्रयोग नगर्न सबै धार्मिक संघसंस्था र सर्वसाधारणलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो।

सूचनामा उच्च ध्वनिका कारण ध्वनि प्रदूषण बढ्दै गएको, बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणमा असर पारेको भन्दै सर्वोच्च अदालतको आदेश र नेपाल सरकारले तोकेको ध्वनि प्रदूषण मापदण्डको पालना गर्न निर्देशन दिइएको छ।

सरकारले राजपत्रमा प्रकाशित गरेको ध्वनि मापदण्डअनुसार मानव जीवनका लागि उपयुक्त ध्वनि स्तर सहरी आवास क्षेत्रमा दिनमा ५५ डेसिबल र राति ५० डेसिबल तथा मिश्रित क्षेत्रमा दिनमा ६५ डेसिबल र राति ५५ डेसिबलभन्दा बढी हुन नहुने उल्लेख गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले मोरङका मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बालगायत सबै धार्मिक संस्थालाई धार्मिक गतिविधि सञ्चालन गर्दा सर्वोच्च अदालतको आदेश तथा प्रचलित ध्वनि प्रदूषण मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ।

तोकिएको मापदण्ड विपरीत ध्वनि प्रदूषण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।

प्रकाशित: १४ श्रावण २०८३ १४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App