समाज

वडाध्यक्षको दोहोरो नागरिकताबारे प्रशासनले थाल्यो अनुसन्धान

रौतहटमा एक जना वडाध्यक्षमाथि दुई देशको नागरिकता रहेको आरोप लागेको छ । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामानन्द प्रसादमाथि नेपाल र भारत दुवै देशको नागरिक भएको आरोप लागेको हो ।

वडाध्यक्ष रामानन्द प्रसादले नेपाली नागरिकताको प्रमाण लिएको र भारतमा पनि मतदाता सूचीमा निजको नाम रहेको बताइएको छ ।

यस विषयमा वडाध्यक्ष रामानन्द प्रसादसँग सम्पर्क गर्दा वडाध्यक्षले आफूलाई जिल्ला प्रशासन कार्यालयले यस विषयमा सोधपुछका लागि बोलाएको र आफू प्रमाणसित हाजिर भइसकेको बताउँदै आफू नेपालको नागरिक मात्र भएको जिकिर गरेका छन् । भारतमा आफूसँग कसैको नाम मिल्न गएको हुन सक्ने बताउँदै भारतमा जहाँको भएको आरोप लगाइएको छ, त्यहाँ आफ्नो कुनै सम्बन्ध नभएको स्पष्ट पारे। आफू एक मात्र नेपालको नागरिक भएको वडाध्यक्षको दाबी रहेको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले भने वडाध्यक्षको नागरिकताको छानबिन गरिरहेको बताएको छ । वडाध्यक्ष रामानन्द प्रसादको बारेमा छानबिन चलिरहेको जिल्ला प्रशासन कार्यालय स्रोतको भनाइ छ ।

वडाध्यक्ष तत्कालीन पचरुखी गाउँ पञ्चायत वडा नम्बर ३ बाट नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन् । भारतको पूर्वी चम्पारण जिल्लको मतदाता परिचय पत्रमा वडाध्यक्षको अनुहार मिलेको देखिएको छ ।

नेपालमा वडाध्यक्षको नाम रामानन्द प्रसाद रहेको तर भारतको पूर्वी चम्पारण जिल्लामा पप्पु यादवको नामबाट नागरिकता लिएको, मतदाता परिचयपत्र बनाएको र बुवाको नाम सियाराम प्रसाद उल्लेख गरेको देखिएको छ ।

दुवैतिरको नाम र बुबाको नाम फरक भए पनि अनुहार हुबहु मिलेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख  जिल्ला अधिकारी विनोद कुमार खड्काले निजबारे अनुसन्धान भइरहेको जानकारी गराएका छन् ।

वडाध्यक्ष रामानन्द प्रसादको दोहोरो नागरिकताबारे गहन अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानमा मेल खाने किसिमको देखिएको प्रजिअ खड्काको भनाइ छ ।

प्रकाशित: २६ श्रावण २०८२ १९:०७ सोमबार