गत बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीपछि सुरुङमा फसेकाको उद्धार कार्यमा सहयोग गर्न थप चार चिनियाँ सुरुङ विशेषज्ञ नेपाल आइपुगेका छन्।
नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनीहरू घटनास्थल पुगेर उद्धार कार्यमा सहभागी भइसकेका छन्। बाढीका कारण अपर त्रिशूली-३ ‘बी’ र त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली खटिएको छ।
टोलीले लेदो र ढुंगाले थुनिएको सुरुङको प्रवेशद्वार पत्ता लगाउने प्रयास गरिरहेको छ। तर वर्षा र भोटेकोशीमा पानीको बहाव बढ्दा उद्धार कार्य प्रभावित हुँदै आएको छ।
बाढी र हिमपहिरोका कारण नेपालतर्फ ७५२ र तिब्बततर्फ १६ गरी ७६८ जनाको मृत्यु भएको छ।
नेपालमा बाढी प्रभावित जलविद्युत् आयोजनामा कार्यरत ९३३ जनासहित दुई हजार ५०२ जना अझै बेपत्ता छन्। उनीहरू पाँच दिनदेखि उद्धारको पर्खाइमा रहेका छन्। चीनतर्फ भने ५४६ जना सम्पर्कविहीन भएका छन्।
प्रकाशित: १४ भाद्र २०८३ १४:०२ आइतबार