समाज

एम्बुलेन्सको भाडा बढी लिए कारबाही

एम्बुलेन्सले जथाभावी भाडा असुल्ने गरेको जनगुनासो बढेपछि उदयपुरमा एम्बुलेन्सको भाडादरमा एकरूपता कायम गर्न कडाइ गरिएको छ। बिहीबार बसेको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्लामा सञ्चालित एम्बुलेन्सका लागि एउटै भाडादर लागू गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले सडकको अवस्था, बढ्दो महँगी र नागरिकको गुनासोलाई समेत ध्यानमा राख्दै नयाँ भाडादर निर्धारण गरेको हो। समितिले बिरामी बोकेबापत एम्बुलेन्सले अनिवार्य रूपमा बिल तथा रसिद उपलब्ध गराउनुपर्ने निर्णयसमेत गरेको छ।

स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरञ्जीवी निरौलाका अनुसार जिल्लामा सञ्चालन हुने एम्बुलेन्सका लागि नयाँ भाडादर निर्धारण गरिएको छ। तोकिएकोभन्दा बढी भाडा लिएको पाइए कारबाही गरिने उनले बताए।

सिडिओ अध्यक्ष रहने समितिको निर्णयअनुसार जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले विभिन्न गन्तव्यका लागि छुट्टाछुट्टै भाडादर निर्धारण गरेको हो। सदरमुकाम गाईघाटस्थित उदयपुर अस्पताल र कटारीस्थित प्रादेशिक अस्पताललाई केन्द्र मानेर गन्तव्यको दूरीअनुसार भाडादर तोकिएको छ।

नयाँ भाडादरअनुसार गाईघाटबाट धरान, इटहरी र विराटनगर जान ६ हजार रुपैयाँ, राजविराज जान ४ हजार, जनकपुर ७ हजार र काठमाडौं जान १७ हजार ५ सय रुपैयाँ भाडा तोकिएको छ। अन्य गन्तव्यका लागि दूरी र सडकको अवस्थाका आधारमा भाडादर निर्धारण गरिएको छ।

एम्बुलेन्सले तोकिएभन्दा बढी भाडा लिएको पाइए कारबाही गरिने निरौलाले बताए। एम्बुलेन्सले मनपरी भाडा लिने गरेको जनगुनासोपछि प्रदेश सरकार तथा स्वास्थ्य मन्त्रालयले कोशी प्रदेशअन्तर्गतका जिल्लामा एम्बुलेन्सको भाडादर समायोजन गर्न पत्राचार गरेपछि नयाँ भाडादर निर्धारण गरिएको उनले बताए।

प्रदेशअन्तर्गतका जिल्लामा एम्बुलेन्सको उचित भाडादर कायम गर्न निर्देशनसहितको पत्र प्राप्त भएपछि जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले भाडा समायोजन गरी नयाँ दर सार्वजनिक गरेको हो। समितिले तोकिएको दरअनुसार मात्र सर्वसाधारणबाट भाडा लिन एम्बुलेन्स सञ्चालकलाई निर्देशन दिँदै अन्यथा कडा कारबाही गर्ने चेतावनी दिएको छ।

समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख, ट्राफिक प्रहरी, एम्बुलेन्स सञ्चालक तथा अन्य सरोकारवालाको सहभागितामा भाडादर समायोजन गरिएको हो।

बैठकले अबदेखि हरेक वर्ष एम्बुलेन्सको भाडादर पुनरावलोकन गरी समयानुकूल दर कायम गर्ने निर्णयसमेत गरेको छ।

 

 

प्रकाशित: २६ भाद्र २०८३ १७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App