रौतहटमा अवैध रूपमा चाँदीखोलाबाट नदीजन्य पदार्थ चोरी निकासी गरेको आरोपमा ८ वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको उत्तरी भेगमा पर्ने चन्द्रपुर नगरपालिकास्थित चाँदीखोलामा अवैधानिक तरिकाले नदीजन्य पदार्थ उत्खनन गरिएको सूचनाका आधारमा ढुङ्गा, गिट्टी र बालुवा बोकेका ८ वटा ट्र्याक्टर नियन्त्रणमा लिइएको हो।
चाँदीखोला तथा चुरे क्षेत्रमा भइरहेको अवैध उत्खननप्रति स्थानीय निकायले पर्याप्त चासो नदेखाएको आरोप लाग्दै आएको छ। जथाभावी उत्खननका कारण खोलाछेउका बस्ती तथा खेतीयोग्य जमिन प्रत्येक वर्ष बाढीको उच्च जोखिममा पर्दै आएका छन्।
चन्द्रपुर नगरपालिकाले सशस्त्र प्रहरीले बुझाएका ट्र्याक्टरमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। स्थानीयवासीका अनुसार प्रशासनको बेवास्ताका कारण अवैध दोहन झनै बढ्दो क्रममा रहेको छ।

प्रकाशित: ५ चैत्र २०८२ १७:३१ बिहीबार