यातायात व्यवस्था सेवा कार्यालय परिसरमै बसेर सरकारी छाप र अधिकृतको दस्तखत किर्ते गरेको आरोपमा प्रहरीले एक जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ।
यातायात कार्यालय परिसरमा लेखापढी व्यवसाय गर्ने विराटनगर–६ का ३७ वर्षीय कमलकुमार स्वर्णकारलाई सरकारी छाप र अधिकृतको दस्तखत किर्ते गरेको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी लीलाराज लामिछानेले जानकारी दिए। उनका अनुसार ब्लुबुक (सवारी दर्ता किताब) नवीकरणका नाममा ठगी गर्दै आएको पाइएपछि स्वर्णकारलाई पक्राउ गरिएको हो।
कार्यालय परिसरभित्रै बसेर सेवाग्राहीहरूको सवारीसाधन सम्बन्धी कागजात नवीकरण गर्ने क्रममा सरकारी छाप, दस्तखत तथा अधिकृतको हस्ताक्षर नै किर्ते गरी अवैध रूपमा सवारीसाधनको नवीकरण प्रक्रिया पूरा गरिदिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी लामिछानेले बताए।
को ३९ प ९५७९ नम्बरको मोटरसाइकलको ब्लुबुक नवीकरण गरिदिने भन्दै स्वर्णकारले जिम्मा लिएको बताउँदै, डिएसपी लामिछानेले भने, ‘उक्त ब्लुबुकमा सरकारी छाप र अधिकृतको हस्ताक्षर किर्ते गरेर सम्बन्धित सवारी धनीलाई फिर्ता दिए। अन्य सेवाग्राहीहरूले नवीकरणका लागि बुझाएका विभिन्न सवारीसाधनका दर्ता किताबमा समेत नक्कली छाप र दस्तखत किर्ते गरेर ठगी गरेको सूचना प्राप्त भएपछि थालेको अनुसन्धानबाट उनले किर्ते गर्ने गरेको खुल्यो।’
उनलाई कार्यालय परिसरबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। पीडितले दिएको जाहेरीका आधारमा सरकारी छाप दस्तखत किर्ते गरी ठगी गरेको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ। स्वर्णकारको घर खानतलासी गर्दा विभिन्न ११ थान ब्लुबुक फेला परेको थियो।
ब्लुबुकहरू नवीकरणका लागि जिम्मा लिने र नवीकरण गरिदिएको भन्दै ढाँटेर राजस्व नतिरीकन फर्जी रसिद उपलब्ध गराउने गरेको पत्ता लागेको छ। नक्कली छाप लगाउँदै अधिकृतको हस्ताक्षर किर्ते गरी ब्लुबुकमा रसिद नम्बर पनि फर्जी राखिदिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रकाशित: २१ चैत्र २०८२ ०९:१५ शनिबार