अविरल वर्षाका कारण पहिरोको जोखिम बढेपछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ६०/७० घरपरिवारका १५०/२०० स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
पहिरोको जोखिममा रहेका स्थानीयवासीलाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित रूपमा बसोबासको व्यवस्था गरिएको प्रहरीले जनाएको छ। उनीहरूको सुरक्षा तथा उद्धारका लागि प्रहरी सहायक निरीक्षक प्रेमबहादुर फौजाको कमाण्डमा १० जना प्रहरीको टोली खटिएको छ।
प्रहरीका अनुसार झ्यालीखेत डाँडाबाट १६ जना, चिसापानीबाट २० जना, राउटेरे डाँडाबाट १५ जना र रिसाङ फारुलाबाट १४९ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो। विभिन्न जोखिमयुक्त क्षेत्रबाट गरी करिब २०० जनालाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।
अविरल वर्षाका कारण पहिरोको जोखिम अझै कायम रहेकाले प्रहरीले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ। विपद्को समयमा नागरिकको सुरक्षा, उद्धार तथा सहयोगका लागि नेपाल प्रहरी निरन्तर परिचालन भइरहेको जनाएको छ।
प्रकाशित: ३१ श्रावण २०८३ १२:०२ आइतबार



