आइतबारको पहिरोले थुनिएको मर्स्याङ्दी नदीको भू-भाग अझै खुल्न सकेको छैन।
स्थानीय प्रशासनले थुनिएको पहिरोको खण्डलाई पहिलेकै धारमा फर्काउन प्रयास गरेको भए पनि सहज नभएको बताएको छ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेल भन्छन्, ‘आइतबार बेलुकी झरेको पहिरोले थुनिएको नदीको बहाव पूर्ण रुपमा खुलाउन सकिएको छैन। दिनभरको प्रयासले पनि पर्याप्त भएन।’
चामे नजिकै भीषण पहिरो झर्दा मर्स्याङ्दी नदीको केही भाग थुनिएको थियो। नदीको केही भाग पहिरोले थुनिएपछि तल्लो तटीय क्षेत्रमा जोखिम हुने भन्दै सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ।
लमजुङ हिमालबाट आएको खोला नजिकै पहिरो खसेको हो। पहिरो मर्स्याङ्दी नदीमा आएर मिसिएको छ।
‘मस्याङ्दीको आधा जति भाग थुनेको छ। एकापट्टिबाट नदी बगिरहेको छ। तर, पानीको भाग बढेको र खोला पूर्ण रूपमा नखुलेकोले केही गरी नदीको बहाव एकै पटक बगेमा जोखिम हुनसक्छ भन्ने थियो, त्यो फुट्ने जोखिम त छैन, तर, सचेत त हुनैपर्छ,’ उनले भने।
थुनिएको नदीको बहाव खोल्नका लागि त्यहाँ खसेको बढेमानामा ढुंगा फुटाउनुपर्ने र त्यसका लागि विस्फोटक पदार्थ ल्याउने प्रयास भइरहेको उनले बताए।
‘विस्फोटक पदार्थ प्रयोग गरेर ढुंगा फुटाएर मात्र बहाव पहिलेकै स्वरूपमा फर्काउन सकिन्छ। त्यसका लागि विस्फोटक सामाग्री ल्याउने प्रयास भइरहेको छ,’ उनले भने।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार नदीको थुनिएको भागको लम्बाई करिब ५ सय मिटर र चौडाइ पनि झन्डै २ सय मिटर नै छ।
बाढीको डुबानभित्र ४ वटा होटेल पनि पुरिएको उनले बताए। ‘खोलाले बहाव थुनेर ताल बनेको भए पनि पानी एकातिरबाट त बगेको छ। तर, अझै पहिरो खस्छ की भन्ने त्रास पनि उत्तिकै छ,’ उनले भने।
उनका अनुसार आइतबार जोखिममा रहेका स्थानीय नागरिक सोमबार बिहान भएपछि मात्र घर फर्केका छन्। तर, जोखिम र त्रास भने नागरिकमा कायम रहेको उनले बताए।
हिमलुङमा अझै १२ बेपत्ता
मनाङको नार्पाभूमि गाउँपालिकामा पर्ने हिमलुङ हिमालमा आइतबार बिहान हिमपहिरो जाँदा सम्पर्कविहीन भएका मध्ये थप दुई जनाको शव सोमबार फेला परेको स्थानीय प्रशासनले बताएको छ।
हिमपहिरोमा परेका १२ जना अझै सम्पर्कविहीन छन्। हिम पहिरोमा परेर दुई जनाको शव आइतबार नै फेला परेको थियो। अहिलेसम्म ४ जनाको शव फेला परेको र १२ जना अझै सम्पर्कविहीन छन्।
नार्पाभूमि गाउँपालिका–५, फू मा पर्ने ७ हजार १ सय २६ मिटर अग्लो हिमलुङ हिमाल आरोहण लागि आएका विदेशीका लागि अग्रिम तयारी गर्न गएको नेपाली गाइड र सहयोगीको समूह हिम पहिरोमा परेको हो। आइतबार राती साढे १ बजेतिर आएको हिमपहिरो उनीहरू बसेको क्याम्पमा बजारिएको थियो।
‘आइतबार र सोमबार गरेर ४ जनाको शव फेला परेको छ। हराएका अरू व्यक्तिको खोजीका लागि टिम खटिएको छ,’ मनाङका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘फेला पार्ने सम्भावना निकै नै कम छ। किनकि बाक्लो हिउँ जमेको छ।’
उनका अनुसार खोजी र उद्धारका लागि खटिएको टिम अहिले पनि हिमपहिरो क्षेत्रमा रहेको उनले बताए। विदेशी पाहुनाको आरोहणको तयारीका लागि दुईवटा समूहमा २७ जना नेपाली सहयोगी त्यहाँ पुगेका थिए। एउटा समूहमा २१ र अर्को समूहमा ६ जना गरी २७ जना थिए।
प्रकाशित: १२ आश्विन २०८३ १७:११ सोमबार