दाङको तुलसीपुरमा सिँचाइ कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार दिउँसो एक युवकको ज्यान गएको छ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-९, बेलुवा माछापोखरी टोलका २४ वर्षीय राजु घर्ती रहेका छन्।
प्रहरीका अनुसार आफ्नै घर नजिकै रहेको टिकरी सिँचाइ कुलोमा करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा घर्तीलाई अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनाबारे थप कानूनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २० भाद्र २०८३ १९:१३ शनिबार