सुनसरीको इटहरीमा आइतबार बिहान मोटरको स्विच अन गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा उदयपुरको चौदण्डीगढी नगरपालिका-२ घर भई हाल इटहरी बस्दै आएका २० वर्षीय शिवम् विक रहेका छन्।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार विक इटहरी उपमहानगरपालिका-१० संविधान चोकस्थित निर्मला स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा काम गर्थे।
बिहान कामको सिलसिलामा मोटरको ‘स्विच अन’ गर्ने क्रममा अचानक विकको बायाँ हातमा करेन्ट लागेको थियो।
करेन्ट लागेर अचेत भएका उनलाई तत्काल उपचारका लागि इटहरी सामुदायिक अस्पताल लगिएको थियो।
त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ अस्पताल पुर्याइएकामा उपचारकै क्रममा उनको ज्यान गएको डीएसपी हमालले जानकारी दिए।
घटनाको सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: ५ आश्विन २०८३ १६:४० सोमबार